जनकपुरधाम, ६ असोज । भारतबाट आयात हुने प्याजको मूल्य एक्कासी बढेपछि जनकपुरधामका गृहिणी, उपभोक्ता तथा होटल व्यवसायी प्रभावित भएका छन्। चाडपर्व नजिकिँदै गर्दा प्याजको मूल्य प्रतिकिलो १२० रुपैयाँसम्म पुगेपछि दैनिक भान्साको खर्च बढेको उपभोक्ताको गुनासो छ।
प्याजको मूल्य बढेसँगै होटल तथा रेस्टुरेन्टमा तयार हुने खानाको मूल्यसमेत बढ्न थालेको व्यवसायीहरू बताउँछन्। भान्सामा दैनिक प्रयोग हुने प्याजको मूल्य एक्कासी बढ्दा चिन्तित बनेको जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वरकी गृहिणी सुधा कर्णले बताउनुभयो। उहाँका अनुसार प्याजसँगै भान्सामा प्रयोग हुने अन्य खाद्यवस्तुको मूल्यसमेत बढिरहेको छ।
नेपाल प्याजका लागि करिब ९८ प्रतिशत भारतमा निर्भर रहेको जनाउँदै जनकपुर आलु–प्याज व्यवसायी संघका पूर्वअध्यक्ष अलाउद्दिन राइनले भारतमा प्याजको मूल्य बढ्दा त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पर्ने बताउनुभयो। पछिल्लो समय भारतमा प्याजको मूल्यमा तीव्र वृद्धि भएकाले नेपालमा पनि यसको मूल्य बढेको उहाँको भनाइ छ।
जनकपुरधामको पेठिया बजारमा प्याजका करिब १२ जना थोक बिक्रेता छन्। नेपालमा प्याजको उत्पादन नगण्य रहेकाले भारतबाट आयात गरेर बिक्री गर्नुपर्ने अवस्था रहेको उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य बटुकनाथ झाले बताउनुभयो।
मधेश प्रदेशमा प्याजको उत्पादन राम्रो भए पनि बजारको माग उच्च भएकाले भारतबाट आयात गर्नुपर्ने अवस्था रहेको व्यवसायीहरूको भनाइ छ। उत्पादनको समयमा उचित बजार नपाउनु, भण्डारणको पर्याप्त व्यवस्था नहुनु तथा भारतीय प्याज तुलनात्मक रूपमा सस्तो हुनुका कारण स्थानीय उत्पादनले उचित मूल्य पाउन नसकेको उनीहरू बताउँछन्।
व्यवसायीहरूका अनुसार भारतबाट नेपाल आयात हुने प्याजमध्ये करिब ७० प्रतिशत महाराष्ट्रको नासिक र ३० प्रतिशत मध्य प्रदेशको इन्दौरबाट आउने गरेको छ।
मधेश प्रदेशका आठ जिल्लामा किसानहरूले १० हजार ७५९ हेक्टर क्षेत्रफलमा प्याज खेती गर्दै आएका छन्। उक्त क्षेत्रफलबाट वार्षिक १ लाख ५४ हजार ६१३ मेट्रिक टन प्याज उत्पादन हुने तथ्यांक छ। प्रदेशमा ठूलो परिमाणमा प्याज उत्पादन भए पनि बजारको अभाव, शीतभण्डारको कमी र उचित मूल्य नपाउँदा किसानहरू समस्यामा छन्।
चाडपर्व नजिकिँदै गर्दा प्याजलगायत दैनिक उपभोग्य वस्तुको मूल्यसमेत बढ्न थालेपछि यस वर्षको चाडपर्व थप खर्चिलो हुने उपभोक्ताहरूको गुनासो छ।
क्वारेन्टाइन कार्यालय जलेश्वरका प्रमुख किशोरकुमार यादवका अनुसार आर्थिक वर्ष २०८२÷८३ मा भिठामोड नाका हुँदै भारतबाट ४८ करोड ५० लाख ८८ हजार ४ सय रुपैयाँ मूल्य बराबरको १ करोड २१ लाख २० हजार ७१० केजी प्याज नेपाल भित्रिएको थियो।
भारतबाट आयात भएको प्याज बजार हुँदै उपभोक्ताको भान्सासम्म आइपुग्दा प्रतिकिलो १२० रुपैयाँभन्दा बढी पर्ने गरेको व्यवसायीहरू बताउँछन्।



