जनकपुरधाम, १२ असोज । भारतको मधुबनी जिल्लास्थित जयनगर चेम्बर अफ कमर्सले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा भारतीय रुपैयाँ २ लाख ५१ हजार सहयोग गरेको छ ।
जयनगर चेम्बर अफ कमर्सको टोलीले सोमबार जनकपुरधामस्थित राष्ट्रिय वाणिज्य बैंकमा उक्त रकम जम्मा गरेको हो । रकम जम्मा गरेपछि टोलीले बाढीमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको थियो ।
चेम्बरका अध्यक्ष वैद्यनाथ ठाकुरले मित्रराष्ट्र नेपालमा आएको विनाशकारी बाढीबाट आफूहरू दुःखी र मर्माहत भएको बताए । मानवीय सहयोगको भावनासहित बाढीपीडितका लागि भारतीय रुपैयाँ २ लाख ५१ हजार प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको उनले जानकारी दिए ।

प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गरेपछि त्यसको रसिद धनुषाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएको ठाकुरले बताए ।
राहत रकम जम्मा गरेपछि जयनगर चेम्बरको टोलीले मधेश प्रदेशका सभामुख रामअशिष यादव, प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्ण तथा मुख्यमन्त्री कृष्णप्रसाद यादवसँग समेत भेटघाट गरेको भारतीय पत्रकार ललित झाले जानकारी दिए ।

झाका अनुसार टोलीले नेपाल–भारत सीमामा दुवै देशका नागरिकले भोगिरहेका समस्या तथा नेपाल–भारत सम्बन्धका विविध विषयमा प्रदेशका उच्च पदाधिकारीसँग छलफल गरेको थियो ।
उनले नेपाल र भारतबीच राजनीतिक सम्बन्धसँगै सदियौँदेखिको सामाजिक, सांस्कृतिक, पारिवारिक तथा व्यावसायिक सम्बन्ध रहेको उल्लेख गर्दै सीमाक्षेत्रमा देखिने सामान्य समस्याले समेत दुई देशबीचको सम्बन्धमा असर पर्न सक्ने भएकाले त्यसलाई नीतिगत रूपमा सम्बोधन गर्दै सम्बन्ध थप सुदृढ बनाउनुपर्ने विषयमा छलफल भएको बताए।

जयनगर चेम्बर अफ कमर्सको टोलीमा अनिलकुमार बैरोलिया, पवन यादव, ध्रुवनारायण गुप्ता, गुड्डा मण्डल, मञ्जर हसन, राकेश गुप्तालगायत सहभागी थिए। टोलीसँगै भारतीय पत्रकार ललित झा पनि जनकपुरधाम आएका थिए।



