जनकपुरधामको ऐतिहासिक मणिमण्डप क्षेत्रमा हालै उद्घाटन गरिएको ‘सीता पुष्पवाटिका’ मधेश प्रदेशको धार्मिक र सांस्कृतिक पर्यटक सम्भावनालाई मूर्तरूप दिन सक्ने एउटा ऐतिहासिक कदम हो । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहद्वारा उद्घाटन गरिएको यो संरचना संघीय सरकारको लगानीमा सम्पन्न भएको हो, जसको मूल उद्देश्य जनकपुरलाई वैवाहिक गन्तव्यस्थलका रूपमा विकसित गर्नु हो ।
जनकपुरधाम हिन्दू धर्मावलम्बीहरूको गहिरो आस्था जोडिएको नगरी हो । यो नगरी न केवल पौराणिक इतिहासले प्रसिद्ध छ, तर राम–जानकी विवाहको साक्षी भूमि भएर पनि यसको विशेष महत्व छ । मणिमण्डप क्षेत्र राम–जानकीको विवाह भएको ऐतिहासिक स्थल मानिन्छ । त्यहाँको मौलिकता जोगाउँदै ‘सीता पुष्पवाटिका’को निर्माणले जनकपुरलाई धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले अझ उचाइमा पु¥याउने अपेक्षा गरिएको छ ।
प्यालेस भवन, धर्मशाला, पभेलियन, विवाहमण्डप र म्युजियमको व्यवस्था रहेको यो परियोजना मधेसमा यस्तो किसिमको उच्चस्तरीय संरचनाको उदाहरण हो, जसले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा उल्लेखनीय योगदान पु¥याउन सक्छ । विवाहपञ्चमीजस्ता पर्वहरूमा लाखौं भक्तजनहरूको आगमन हुने जनकपुरधाममा बसोबास, सभाहल, र धार्मिक सांस्कृतिक क्रियाकलापका लागि आवश्यक पूर्वाधारको निर्माण अत्यावश्यक थियो । यस संरचनाले त्यो अभाव केही हदसम्म पूरा गरेको छ ।
मन्त्री सिंहद्वारा उद्घाटन समारोहमा व्यक्त गरिएको विचार—“जनकपुर सम्पूर्ण दक्षिण एशिया र विश्वभरिका हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्र हो”—सटीक मात्र होइन, रणनीतिक दृष्टिले पनि समयानुकूल छ । दक्षिण एसियामा धार्मिक पर्यटनको ठूलो सम्भावना छ, तर नेपाल त्यसको पूर्ण उपयोग गर्न सकेको छैन । सीता पुष्पवाटिकाले अब त्यो सम्भावनालाई वास्तविकतामा रूपान्तरण गर्न मद्दत पु¥याउन सक्छ ।
तर प्रश्न यहीँ सकिँदैन । परियोजनाको समग्र मूल्य १८ करोड ५३ लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ र निर्माण अवधि तोकिएको समयभन्दा पाँच वर्ष ढिलो भएको हो । समयमै निर्माण नहुनु र लागतको वृद्धिको विषयलाई पनि नजरअन्दाज गर्नु हुँदैन। यो प्रवृत्ति सरकारी योजनामा साधारणजस्तो देखिए पनि दीर्घकालीन रुपमा खर्चको पारदर्शिता र परियोजनाको समयानुकूलता माथि गम्भीर प्रश्न उठाउँछ। आगामी दिनमा यस्ता परियोजनाहरू निर्माण गर्दा पारदर्शिता, समयपालना र गुणस्तरमा कुनै सम्झौता हुनु हुँदैन ।
साथै, संरचना निर्माण मात्र पर्याप्त होइन । यसको दीर्घकालीन व्यवस्थापन, संरक्षण र प्रचारमा समेत तीनै तहका सरकारहरूको सक्रियता अपरिहार्य छ । मणिमण्डप क्षेत्रलाई धार्मिक गन्तव्य मात्र होइन, अन्तर्राष्ट्रिय वैवाहिक पर्यटन केन्द्रका रूपमा विकास गर्ने उद्देश्य साँच्चिकै सफल बनाउन चाहेमा, स्थानीय समुदायको सहभागिता, धार्मिक संस्थासँगको समन्वय, र डिजिटल प्रचारको रणनीति आवश्यक छ।
जनकपुरधामको धार्मिक महिमा, ऐतिहासिक सम्पदा र सांस्कृतिक धरोहरलाई विश्वसामु चिनाउनका लागि ‘सीता पुष्पवाटिका’ एउटा कोशेढुंगा अवश्य हो। तर, यसरी बनेका संरचनाहरू केवल उद्घाटन समारोहमा सीमित नहोस्—यसले स्थायी प्रभाव छाडोस्, जनकपुरधामको अन्तर्राष्ट्रिय पहिचान निर्माणमा सहायक बनोस्, यही अपेक्षा जनताको छ।

