नेपालको रंगमञ्चमा मिथिला क्षेत्रको नाम झल्काउने केही गनिएका नामहरूमा पर्छिन्, वरिष्ठ कलाकार अनितारानी मण्डल । एक सामान्य गाउँबाट यात्रा सुरु गरेकी यी साधारण तर अडिग महिलाले मैथिली रंगकर्ममा नारीको उपस्थिति मात्र गराइनन्, यो उपस्थिति स्थायी पनि बनाइन् । नाट्यकला, गीत–संगीत, सामाजिक चेतना र भाषिक पहिचानका लागि झण्डा बनेकी अनितारानीको जीवन कथा केवल व्यक्तिगत सफलता होइन-यो मिथिला र मैथिली भाषाको अस्तित्व र आत्मसम्मानको लडाइँ हो ।
बि.सं. २०६२ सालमा मिथिला नाट्यकला परिषदद्वारा तालिम लिएकी रानी भन्छिन्-पहिलो नाटक ‘हाय रे हमर घरवाली’-जहाँ अनितारानीले पहिलो पटक रंगमञ्चमा पाइला टेकिन् । त्यो पात्र एक महिलाको थियो, जुन चरित्रलाई ग्रामीण समाजमा महिला कलाकारले निभाउनु त्यति सहज थिएन । खासगरी मधेशको ग्रामीण परिवेशमा जहाँ महिलालाई अझै घरको चौकाबाट बाहिर निस्कन सामाजिक अनुमति हुँदैन, त्यहाँ मञ्चमा उभिएर अभिनय गर्नु भनेको एक प्रकारको क्रान्तिकारी कदम थियो । तर जब दर्शकले उनको अभिनय हेरे, ताली मात्र बजेन, चर्चा गाउँ–गाउँसम्म फैलियो । सोही दिन उनले आफूभित्रको कलाकार फेला पारिन-जसको यात्राले आज तीन दशक पार गरिसकेको छ ।
त्यो समय थियो जब मधेशका गाउँ–गाउँमा जनचेतना अत्यन्तै न्यून थियो । शिक्षादर न्यून, सञ्चारका साधन सीमित । त्यस्तो बेला चेतना फैलाउने एक मात्र प्रभावकारी माध्यम थियो-सडक नाटक । र यही आन्दोलनमा अनितारानी अग्रसर भइन् । उनी भन्छिन्, ‘तत्कालीन समयमा महिलालाई नाटक खेल्न समाजले पचाई रहेको थिएन । त्यसमा पनि ग्रामिण क्षेत्रकी महिलालाई अत्यधिक चुनौती नै थियो ।’

तर अनिताको अगाडि चुनौतीभन्दा ठूलो लक्ष्य थियो-समाजमा परिवर्तन ल्याउने । अभिनय केवल मनोरञ्जनको साधन थिएन, त्यो त गाउँका अँध्यारामा मैनबत्ती बलेको जस्तै थियो । उनले अभिनय गरेका नाटकहरू सामाजिक विकृति, लैङ्गिक असमानता, दाइजो प्रथा, छुवाछूत जस्ता विषयमा आधारित हुन्थे ।
कलाकारिता त्यति सहज पेशा होइन, जब तपाईं महिलाको रूपमा एक रूढीवादी समाजमा प्रवेश गर्नुहुन्छ । सुरुमा गाउँका केही मानिसहरू उनको विरोधमा थिए । तर एक पक्ष उनको लागि सधैं साथमा थियो-उनका बाबुआमा । बुवा राजेशप्रसाद मण्डल र आमा चन्द्र देवी मण्डल न त उनलाई रोक्न खोजे, न त डराए । बरु उनीहरू नै थिए, जसले हौसला दिए, ढाडस बाँधे ।
पछि जीवनसाथी सतिश मण्डल पनि उनीकै यात्रामा सहयात्री बने । उनी भन्छिन-‘कलाकारिता क्षेत्रमा अगाडि बढ्नमा मेरो श्रीमानको पनि महत्वपूर्ण सहयोग रह्यो र रहँदै आएको छ ।’ वैवाहिक जीवन र कलाकारिताको सन्तुलन मिलाउनु सजिलो थिएन, तर उनीहरूले एक अर्कालाई बुझेर कलाकारिताको स्वाभाविक विकास गर्न दिए ।
विहेपछि उनी नाटक लगायतको मात्रमा कहिले आमा, कहिले वहिनी त कहिले सासु, भाउजु लगायतको भूमिका हुन्छिन ।
अनितारानीको जीवनमा एक महत्वपूर्ण नाम हो-वरिष्ठ नाटककार महेन्द्र मलंगिया । उनी उनलाई गुरु मान्छिन् । महेन्द्र सरका नाटकहरूमा अभिनय गर्नु, त्यसपछि मिथिला नाट्यकला परिषद् (मिनाप) जस्तो प्रतिष्ठित संस्थासँग आवद्ध हुनु उनको यात्राको अर्को उचाइ थियो । ‘छुतहा घैल’, ‘गाम नै सुतैय’ जस्ता नाटकहरूमा महिला पात्रका रूपमा उनले जुन जीवन्तता देखाइन्, त्यसले उनलाई मैथिली रंगमञ्चमा सशक्त महिला कलाकारका रूपमा स्थापित गरायो ।

मिनापमा संलग्न भएपछि उनले धेरै रंगकर्मी, लेखक र संगीतकर्मीहरूसँग सहकार्य गरिन् । यसले उनको अभिनय क्षमतालाई मात्र होइन, सामाजिक चेतनामूलक विषयहरूप्रतिको बुझाइलाई पनि अझ गहिरो बनायो ।
उनी स्वीकार गर्छिन-मैथिली रंगकला बीचमा कहिले काहीँ थाकेजस्तो भयो । नयाँ कलाकारहरूको अभाव, लगानी नहुनु, मञ्चको संकटले वातावरण केही सुनसान बनायो । तर हाल पुनः युवा पुस्ताको उत्साह र समर्पणले मैथिली कलाकारितामा नयाँ ऊर्जा ल्याएको छ । यद्यपि, विषयवस्तुमा परिवर्तन आएको छ । उनले देखेकी कलाकारिता समाज परिवर्तनको औजार थियो, अहिलेको मनोरञ्जन केन्द्रित छ ।
उनी भन्छिन-‘मैथिली कलाकार भएपनि यहाँको विषयवस्तु कम र बाहिरको बढी हुन्छ । यो चिन्ताको विषय हो ।’ मैथिली क्षेत्रमा अभिनय गर्ने कलाकारमा ह्रासमेन्ट आएको छ । युट्युवमा आफ्नो लाइक र फलोवर बढाउनका लागि जे पनि गर्न तयार देखिन्छ । त्यो कलाकार भित्रको विकृति हो । कलाकार जहिलेपनि सभ्य रुपमा प्रस्तुत हुनुपर्छ । समाजमा नयाँ पहिचान स्थापित गर्नुपर्छ । समाजभित्रको विकृतिलाई हटाउनुपर्छ ।’
नेपालमा मैथिली भाषा दोस्रो सबैभन्दा धेरै बोलिने भाषा हो । तर सरकारी नीतिमा यसको उपस्थिति लगभग नदेखिने जस्तो छ । ‘मैथिली र मिथिला समृद्ध छ । यहाँका संस्कृतिलाई विश्वलाई जनाउन सकेन ! यो नै दूर्भाग्य हो ? यसमा राज्यलाई महत्वपूर्ण दोषी ठान्दछु ।’ उनीको यो भनाइ केवल पीडा होइन, राजनीतिक उपेक्षाको स्पष्ट आलोचना हो ।
उनको जीवनको अधिकांश समय मैथिली भाषा, कला र संस्कृतिको संरक्षण र प्रवद्र्धनमा बितेको छ । तर राज्यले यसको कदर गरेको छैन । सरकारी लगानी, नीतिगत मान्यता र मञ्च अभावका कारण मैथिली कला अझै उपेक्षित छ ।
अनितारानी मण्डल केवल एक कलाकार होइनन-उनी आवाज हुन्, जो मिथिलाको मौन पीडालाई मञ्चमा पोख्छिन् । उनी ऐतिहासिक साक्षी हुन्, जसले देखिन-गाउँबाट कसरी कलाकार जन्मिन्छ, कसरी समाज बदलिन्छ, र कसरी एउटा महिला सम्पूर्ण पद्धतिलाई चुनौती दिन सक्छ ।
उनको यात्रा मैथिली भाषाकी आवाज हो, संस्कृतिको प्रतीक हो, र नारी शक्तिको जीवन्त उदाहरण हो ।

