जनकपुरधाम—धार्मिक आस्थाको राजधानी, मिथिला सभ्यताको गौरव, जनक र सीताको पवित्र स्मृतिभूमि । तर यो नगरको विडम्बना यस्तो थियो कि कहिले फोहरको पहिचान, कहिले मच्छरको उपमा र कहिले मौलिकता गुमाउँदै गएका बस्तीको परिचय बोकेको थियो । विकासको नाममा दशकौँसम्मको शून्यता जनकपुरको नियति बनेको थियो । यस्तै पृष्ठभूमिमा २०७४ सालको स्थानीय निर्वाचन भयो, जहाँ म जनकपुरवासीका सामु एक स्पष्ट दृष्टिकोण, प्रतिबद्धता र योजनासहित प्रस्तुत भएँ । जनताले विश्वास गरे । मैले जिम्मेवारी पाएँ । उपमहानगरपालिकाको मेयरको रूपमा जनकपुरधामको पुनर्जागरणको यात्रा सुरु भयो ।
मेयर पदको जिम्मेवारी सम्हाल्नेबित्तिकै मैले विकासलाई तीन चरणमा विभाजित गरेँ—अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन योजनाहरू । तर जिम्मेवारी शुरु भएको दुई वर्षपछि मानव सभ्यतालाई नै थिलथिलो बनाउने कोरोना महामारीको त्रास सुरु भयो । जनजीवन ठप्प भयो, संक्रमणले मानिस त्रसित भए, अर्थतन्त्र धराशायी बन्न थाल्यो । यतिबेला जनकपुरधाम उपमहानगरपालिकाले आफ्ना नागरिकलाई संरक्षण गर्न अग्रसर रह्यो । नगरको प्रत्येक कुनामा होम क्वारेन्टाइनको व्यवस्था गरियो, संक्रमितका लागि खानाको व्यवस्था, मास्क, सेनिटाइजर, औषधि वितरण र परीक्षण प्रयोगशाला सञ्चालन गरियो । महामारीको बेला राज्य संयन्त्र कमजोर रहँदा स्थानीय सरकार जनताको एक मात्र भरोसा बनेको थियो ।
जनकपुरधामलाई स्वच्छ, हराभरा र व्यवस्थित सहर बनाउने मेरो अठोट थियो । तर यसको मार्ग सरल थिएन । जनकपुरका सडकहरू साँघुरा थिए, फोहरले भरिएका थिए, र नगरकै नाममा ‘नरकपुर’ लेख्ने अवस्थासम्म सिर्जना भएको थियो । एशियाली विकास बैंकको ऋण सहायता परियोजना वर्षौंदेखि कार्यान्वयनमा आउन सकेको थिएन । मैले त्यसलाई मूर्तरूप दिएँ । सडक विस्तारको क्रममा सयौँ घर संरचनाहरू भत्काइए । यसले कतिपयको चित्त दुखायो पनि । तर सहरको समग्र हितको लागि जनकपुरवासीहरूले साथ दिए । जनताको त्यही साथ विकासको मार्गमा प्रेरणा बन्यो ।
महामारीपछि जनजीवन शिथिल हुँदा अर्को समस्या आयो—असह्य गर्मी र पानीको संकट । चापाकलहरू सुक्न थाले, जनजीवन प्यासले थलिन थाल्यो । नगरपालिकाले हजार लिटर क्षमताका टंकीहरू सार्वजनिक स्थलदेखि लिएर वडावार राख्यो । २५ वटै वडामा नयाँ चापाकल जडान गरियो । यसले मात्र होइन, जनताको मनमा राज्यप्रति भरोसा पनि फेरि जगायो ।
जनकपुर धार्मिक नगरी हो, तर यो धामको हैसियतमा कहिल्यै स्थापित हुन सकेको थिएन । मैले यो ऐतिहासिक थालनी गरें—जनकपुरलाई आधिकारिक रूपमा ‘धाम’ घोषणा गरियो । नगरलाई केसरिया रंगले सुशोभित गर्दै परम्परा, संस्कृति र आधुनिक सौन्दर्यबोधबीचको सन्तुलन स्थापित गरियो । नगरको २५ वटै वडामा कार्यालय थिएनन्, स्वास्थ चौकी थिएनन् । मैले यी संरचनाहरू निर्माण गरें । नगरपालिकाको भवन आफैं जीर्ण थियो, चुहिने अवस्थामा थियो—नवीन भवन निर्माण गर्दै संस्थागत पहिचान पनि थप मजबुत बनाइयो ।
शिक्षा क्षेत्र नगरको सबैभन्दा उपेक्षित क्षेत्रमध्ये एक थियो । विद्यालयहरूमा जीर्ण भवन थिए, भौतिक संरचनाको अभाव थियो । मैले संकटमोचन रामरति विद्यालय र बसहिया स्थित गोगलप्रसाद विद्यालयलाई नमूना विद्यालयका रूपमा विकास गरें । माध्यमिक तहका विद्यालयहरूलाई प्लसटूमा स्तरोन्नति गरियो । यसले नगरका थुप्रै विद्यार्थीहरूलाई बाहिर जानुपर्ने बाध्यता अन्त्य ग¥यो ।
नगरका प्रवेशद्वारहरू दयनीय अवस्थामा थिए । मैले सहरका चारै दिशाबाट जनकपुरमा प्रवेश गर्न सकिने सडकहरू निर्माण गरें । गाउँदेखि सहरसम्मका सम्पर्कमार्ग सुधार गरियो । सीमावर्ती भारतीय बस्तीहरूसँगको सम्बन्ध सहज बनाउँदै जनकपुरको पर्यटन सम्भावनालाई मजबुत पारियो । विमानस्थलमा नाइट उडान सुरु गरियो, फ्युल स्टेशन जडान गरियो । अहिले जनकपुरबाट दैनिक चार–पाँच उडान नियमित भइरहेका छन् । भारत सरकारसँग समन्वय गर्दै धार्मिक पर्यटन विस्तारका लागि उच्चस्तरीय पहल गरियो ।
जनकपुरधामको रात अँध्यारोमय थियो । मैले ५ हजार पोलमा बल्ब र १३० वटा हाईमास्ट लाइट जडान गराएँ । सहर उज्यालो बन्यो, सुरक्षायुक्त बन्यो । यातायात व्यवस्थापन, ट्राफिकको सुधार, प्रहरी प्रशासनसँग समन्वय गरी जनजीवनलाई सुरक्षित बनाइयो । संघीयता स्थापनाका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मृतिमा नगरको मुख्य सडकमा ‘शहीदद्वार’ निर्माण गरियो, जुन मेरो कार्यकालको सबैभन्दा गौरवपूर्ण उपलब्धिमध्ये एक हो ।
जनकपुर मठ–मन्दिर र सरोवरहरूको नगरी हो । मैले ती सबैको सौन्दर्यीकरणमा विशेष जोड दिएँ । नगरको सांस्कृतिक सम्पदा विश्वसामु चिनाउन युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गराउने पहल गरें । देश–विदेशमा जनकपुरको आवाज पु¥याउने प्रयास गरें । थुप्रै अल्पकालीन, मध्यमकालीन योजनाहरूलाई कार्यान्वयनमा ल्याउन सफल भएँ ।
तर दुःखको कुरा, २०७९ पछि विकासका ती प्रयासहरू स्थायी रूप लिन सकेनन् । नयाँ नेतृत्वले मेरो योजनाहरूको संरक्षण र संवद्र्धन गर्न सकेन । विकासको गति फेरि मन्द भयो । मैले जुन आत्मासम्मानका साथ नगरको सेवा गरेँ, त्यो गति रोकिँदा आज म चिन्तित छु । त्रुटिहरू मबाट पनि हुन सक्छन्, तर नियतमा कुनै खोट थिएन । मेरो उद्देश्य केवल जनकपुरधामको समुन्नत भविष्य थियो र आज पनि छ । जनकपुरधाम विश्वकै धार्मिक राजधानी बन्ने सामथ्र्य राख्छ—त्यसका लागि केवल इच्छाशक्ति, निरन्तरता र जनताको जागरुकता आवश्यक छ ।
नगरको विकास कुनै एक जनप्रतिनिधिको काम होइन—यो साझा यात्राको नाम हो । यदि जनकपुरवासी पुनः सजग, सचेत र जागरुक भए भने यो नगर फेरि चम्कन सक्छ । जनकपुरधामलाई इतिहासको गौरवबाट भविष्यको गन्तव्य बनाउने यात्रामा हामी सबै सहभागी बनौं, यही मेरो आग्रह रहनेछ ।
उहाँ जनकपुरधाम उपमहानगरपालिका पूर्व मेयर हुनुहुन्छ ।

