जनकपुरधाम, १७ असार । वातावरणीय प्रदूषणले मानव जीवनमाथि प्रत्यक्ष असर पारिरहेको भन्दै मधेश प्रदेशका सांसद रामअशिष यादवले वातावरण संरक्षणमा तत्काल ठोस पहल आवश्यक रहेको बताउनुभएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेश प्रदेशको आयोजनामा जनकपुरधाममा आयोजित “प्रदेश स्तरीय वातावरण अधिकारकर्मी क्षमता अभिवृद्धि कार्यक्रम” मा बोल्दै सांसद यादवले जल, जमिन, वायु र ध्वनी प्रदूषणले मानव जातिमाथि गम्भीर खतरा उत्पन्न गरिरहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “यी चारवटै प्रदूषणका स्रोतलाई नियन्त्रण गरी संरक्षण र संवद्र्धन गर्नु आजको प्रमुख आवश्यकता हो । त्यसका लागि सबै मानव जाति स्वयं अगाडि आउनुपर्छ ।”
डिजिटल माध्यममार्फत प्रस्तुति दिंदै सांसद यादवले प्रदूषणका कारण जमिनमुनिको पानीको तह (लेयर) दिन प्रतिदिन घट्दै गएको, जसका कारण स्वच्छ पानी पाउन कठिन हुँदै गएको बताउनुभयो । उहाँले जोड दिनुभयो, “अबको युद्ध प्रदूषण विरुद्धको हुनेछ । त्यसैले तीन तहकै सरकारसँगै आम नागरिकको पनि सहभागिता अत्यावश्यक छ ।”
प्लास्टिक प्रयोग र जमिन प्रदूषणमा चिन्ता
सांसद यादवले प्लास्टिक, पोलिथिन तथा कुराकचरा जस्ता वस्तुले जमिन र जल प्रदूषण बढाएको भन्दै यसको असर मानिससँगै अन्य जीवजन्तुमाथि समेत परेको बताए । उहाँले थप्नुभयो, “भूमि प्रदूषण नियन्त्रणका लागि युवापुस्ताले प्लास्टिकको सट्टा माटोका भाँडाहरूको प्रयोग गर्नुपर्छ । यसले संस्कृतिको संरक्षणसँगै स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्दछ ।”
प्रदूषण र मानव मृत्युबीचको सम्बन्ध
सांसद यादवले एक तथ्यांक प्रस्तुत गर्दै भन्नुभयो, “विश्वभर वायु प्रदूषणका कारण हरेक वर्ष ४२ लाख मानिसको ज्यान जाने गरेको छ । नेपालमा मात्रै वार्षिक ३,५०० जनाको मृत्यु प्रदूषणका कारण हुने गरेको छ । अझै गम्भीर कुरा त के हो भने, हाल नेपालका जम्मा २५ प्रतिशत मात्र नागरिकले स्वच्छ खानेपानी पाएका छन् ।”
चुरे दोहन र जल संकटबीचको सम्बन्ध
कार्यक्रमका अर्का वक्ता, वनस्पति अनुसन्धान केन्द्रका प्रमुख ताहिर हुसेनले चुरे दोहनले तराई–मधेसमा जल संकट उत्पन्न गराएको बताउनुभयो । उहाँले धनुषाधाम क्षेत्रको उदाहरण दिँदै वन विनाशका स्थानमा जडीबुटी र आर्थिक उपयोगिता भएका विरुवा रोपेर वातावरणीय सन्तुलनका साथ आर्थिक लाभ समेत लिन सकिने विचार राख्नुभयो ।
उहाँले भन्नुभयो, “पहिले ५०–६० फिटमा पानी भेटिन्थ्यो, अहिले ४५० फिट खनेर पनि कतिपय ठाउँमा पानी पाइँदैन । चुरे संरक्षण नगरे पानीको लेयर अझ तल झर्दै जान्छ ।”
मानव अधिकारकर्मीको भूमिका महत्वपूर्ण
कार्यक्रममा प्रशिक्षक तथा राष्टिय मानव अधिकार आयोगका सहसचिव बुधनारायण सहनीले वातावरण संरक्षणमा मानव अधिकार र मानव अधिकार रक्षकहरूको भूमिका विषयमा डिजिटल प्रस्तुति दिनुभयो ।

त्यस्तै मिडिया काउन्सिलका पूर्व अध्यक्ष कैलास दासले वातावरणीय अधिकार र मानव जीवनबीचको सम्बन्ध प्रष्ट पार्दै भन्नुभयो, “वातावरण संरक्षण गर्नु हाम्रो न्यायिक तथा मानव अधिकार हो । वातावरण स्वच्छ रह्यो भने मात्र मानव जीवन पनि स्वस्थ रहन सक्छ ।”
उहाँले सवारी चाप बढी हुने ठाउँहरूमा वायु प्रदूषण बढी हुने भन्दै त्यस्ता स्थानमा हरियाली विस्तार तथा सरसफाइमा विशेष ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।
उहाँले वातावरण संकटको वर्तमान अवस्था, मानव अस्तित्व र वातावरणसंग अटुट सम्बन्ध, वातावरणीय अधिकार, वातावरणीय न्याय, वातावरण संरक्षणमा शसक्तिकरण र सहभागिता लगायतको बुँदामा आफ्ना विचार समेत राख्नुभयो ।
इन्सेक मधेश प्रदेश संयोजक राजु पासवानको अध्यक्षतामा सम्पन्न दुई दिवसीय कार्यक्रममा मधेश प्रदेशका आठवटै जिल्लाबाट मानव अधिकारकर्मी तथा वातावरण क्षेत्रमा काम गरिरहेका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सहभागीहरूले वातावरणीय संकटका विविध पक्षबारे विचार राख्दै प्रभावकारी समाधानका उपायहरूप्रति जोड दिएका थिए ।

