जनकपुरधाम । तीन दशकभन्दा बढी समयदेखि पत्रकारिता क्षेत्रमा निरन्तर सक्रिय श्रीनारायण साह आजको पत्रकारिताको अवस्था देखेर चिन्तित छन् । २०४८ सालमा मास्टर डिग्री हासिल गरी जोस, जाँगर र राष्ट्रसेवाको भावना बोकेर पत्रकारितामा प्रवेश गरेका उनी आज पनि एउटा क्यामरा काँधमा बोकेर विभिन्न कार्यक्रमको रिपोर्टिङका लागि दौडिरहन्छन् ।
प्रजातन्त्रको पुनःस्थापनादेखि माओवादी द्वन्द्व, लोकतान्त्रिक आन्दोलन हुँदै गणतन्त्र स्थापनासम्म उनले कलम चलाएका छन् । उनी विगत र वर्तमान पत्रकारिताबीचको अन्तरबारे अनुभव बाँड्दै भन्छन्, “पहिले रिपोर्टिङ गर्न सवारी साधन थिएन, समाचार लेख्न उपकरण थिएनन्, तर इमान्दार पत्रकारिता थियो । समाजमा पत्रकारको मर्यादा उच्च थियो, नागरिक समाज समाचारलाई गम्भीर रूपमा लिन्थ्यो र प्रशासन पनि पत्रकारको लेखनीलाई ध्यानपूर्वक हेथ्र्यो ।“

अहिले भने त्यो अवस्था नरहेको साह बताउँछन् । उनका अनुसार पहिले पत्रकारहरूले घटनास्थलमै पुगेर प्रत्यक्ष रिपोर्टिङ गर्थे, एकै घटनाको समाचार पत्रकार–पत्रकारबीच मेल खाँदैनथ्यो, किनभने सबैको दृष्टिकोण फरक र स्वतन्त्र हुन्थ्यो । “सत्यको पक्षमा खडा हुने पत्रकारिता थियो । अभाव थियो, तर सकुन थियो“, साह स्मरण गर्छन् ।
श्रीनारायण साहका अनुसार, २०४८ सालमा पत्रकारिता सुरु गर्दा उनलाई आफ्नो साला रविन्द्र साहले ठूलो प्रेरणा दिएका थिए । जनकपुरधाम उपमहानगरपालिका–१६ अन्तर्गत पर्ने कपिलेश्वर गाउँ निवासी साह भन्छन्, “त्यो बेलामा औंलामा गन्न सकिने मधेसी पत्रकार थिए, मेरो गाउँमा पत्रकार थिए तर सबै पहाडी समुदायका—कुलदीप प्रसाद कुमुद, मेघप्रसाद उपाध्याय र चन्देश्वर गिरी ।”
कलम बेचिएको छ, प्रहरी प्रशासन पनि मौन छ। पत्रकारिता अब जनकल्याण होइन, व्यक्तिगत स्वार्थमा केन्दित देखिन्छ। यदि यथास्थिति ज्यूँ का त्यूँ रह्यो भने, पत्रकारिता गम्भीर संकटतर्फ जान सक्छ।
उनले ‘लोकमत साप्ताहिक’ बाट पत्रकारिता यात्रा सुरु गरेका थिए । आफैं पत्रकार, आफैं हाकर बन्नुपर्ने त्यो समय सम्झँदै उनी भन्छन्, “छ महिनामै सह–सम्पादक बनेँ, त्यसपछि काठमाडौबाट प्रकाशन हुने साप्ताहिक ‘विमर्श’ मा काम गर्न थालेँ ।”
२०४८ देखि २०५४ सालसम्मको समयलाई उनी नेपाली पत्रकारिताको सबैभन्दा चुनौतीपूर्ण कालखण्ड मान्छन् । समाचार प्रकाशित भएसँगै प्रशासन र नेताहरूको धाकधम्की आउनु सामान्य थियो, तर नागरिक समाज पत्रकारको पक्षमा उभिन्थ्यो । साह भन्छन्, “त्यही जनताको विश्वास नै मेरो पूँजी बन्यो ।”
‘विमर्श साप्ताहिक’ मा छापिएको उनको समाचार “मकेश्वर सिंहको मकै चपाई” ले जनकपुरमा खैलाबैला मच्चाएको सम्झना उनी अझै गर्वका साथ गर्छन् । “समाचार भ्रष्टाचारविरुद्ध थियो, मलाई धम्की र मानसिक पीडा पनि सहनु प¥यो, तर समाचारबाट जनचेतना फैलिएको महसुस हुँदा पहिलोपटक पत्रकारिताको प्रभाव देखेँ,“ उनी भन्छन् ।
त्यसपछि पत्रकारिता प्रति उनको समर्पण अझ बढ्यो । घरका आमाबाबु सरकारी जागिरको अपेक्षामा थिए, तर साहको मन पत्रकारितातिर मोडिइसकेको थियो । उनले आधा दर्जन साप्ताहिक पत्रिकामा काम गरे, उनका समाचारलाई विशेष प्राथमिकतासाथ छापिन्थ्यो । रविन्द्र साहजस्ता क्रान्तिकारी पत्रकारबाट प्रभावित साह आज पनि रिपोर्टिङमा उस्तै जोश देखाउँछन् ।

अहिलेको पत्रकारिताको अवस्था देखेर उनी चिन्तित छन् । “पहिले मर्यादित पत्रकारिता हुन्थ्यो, कमाइभन्दा मान र मर्यादा ठुलो थियो”, साह भन्छन्, “तर अहिले पत्रकारिता पैसा कमाउने माध्यम बनेको छ । जनकल्याण होइन, व्यक्तिगत स्वार्थका लागि कलम चलाइन्छ ।” उनले थपे, “अब पत्रकारिता मिसन होइन, ‘कमिशन’ बन्दै गएको छ । पत्रकारिताको नाममा भजाउने काम भइरहेको छ । यसमा पत्रकार मात्र होइन, प्रहरी प्रशासनजस्ता अंगहरूको पनि उदासीनता जिम्मेवार छ ।”
उनले पुरुषोत्तम दाहाल सम्पादक रहेको नेपालवाणी साप्ताहिक, श्रीरिष बल्लभ प्रधानद्वारा प्रकाशित जन्मभूमि, विश्वदीप साप्ताहिक, अन्नपूर्ण पोस्ट, राजधानी दैनिक, आजको समाचार, रासस, गोरखापत्र, हिमालय टाइम्स लगायत राष्ट्रिय मिडियामा काम गरिसकेका छन् । २०५४ सालमा नेपाल टेलिभिजनमा महोत्तरी संवाददाताका रूपमा काम सुरु गरेका साह अहिले पनि नेपाल टेलिभिजनमै कार्यरत छन् । २०५४ सालमै उनले विदेहभूमि मासिक पत्रिका दर्ता गरेका थिए, यद्यपि त्यसलाई निरन्तरता दिन सकेनन् । पत्रकारिताबाट कमाउने उद्देश्य कहिल्यै थिएन भन्ने साह भन्छन्, “पत्रकारिता जनतालाई सचेत बनाउने, अधिकारको चेतना जगाउने र राज्यलाई सही मार्गदर्शन दिने माध्यम हो, तर अहिलेको अवस्था देख्दा डर लाग्छ, भविष्य अन्धकारमय बन्ने खतरा देखिन्छ ।“ श्रीनारायण साहको जीवनयात्रा नेपाली पत्रकारिताको ऐतिहासिक दस्तावेज हो, जसले समर्पण, साहस, संघर्ष र स्वतन्त्रताको गहिरो सन्देश दिन्छ ।

