जनकपुरधाम, ३१ असोज । मधेश प्रदेशमै पहिलोपटक राजर्षी जनक विश्वविद्यालयले पत्रकारिता तथा जनसञ्चार अध्ययनका लागि स्नातक तह (ब्याचलर अफ जर्नलिज्म एण्ड मास कम्युनिकेसन–बिजेएमसी) कार्यक्रम संचालनको तयारी थालेको छ । यससँगै प्रदेशका विद्यार्थीले अब आफ्नै प्रदेशमै पत्रकारिता अध्ययन गर्ने अवसर पाउने भएका छन् ।
विश्वविद्यालयको मानविकी तथा कानून संकायद्वारा शुक्रबार जनकपुरधाममा आयोजित एकदिवसीय कार्यशाला कार्यक्रममा उक्त कार्यक्रमको सिलेबस तयारी तथा संरचनाबारे विस्तृत छलफल गरिएको छ । कार्यशालामा सहभागी विज्ञ, प्राध्यापक तथा सञ्चारकर्मीहरूले बदलिंदो सञ्चार प्रविधि र मिडिया परिदृश्यअनुसार पाठ्यक्रमलाई समयानुकूल बनाउने आवश्यकता औंल्याए ।

कार्यक्रममा केन्द्रीय पत्रकारिता तथा जनसञ्चार विभाग, त्रिभुवन विश्वविद्यालयका सह–प्राध्यापक डा. घामा राज लुइतेलले प्रस्तावित सिलेबस र कार्यक्रम संरचनाबारे विस्तृत जानकारी दिएका थिए । उनले ‘बिजेएमसी’ कार्यक्रमलाई आठवटा खण्डमा विभाजन गरी तयार गरिएको सिलेबस प्रस्तुत गर्दै व्यावहारिक अभ्यासलाई प्राथमिकता दिइने उल्लेख गरे ।
त्यसैगरी जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका) नेपालका विशेषज्ञ स्वयंसेवक हिरोयुकी तैराले दृश्य संचार र फोटो पत्रकारितामा आधारित डिजिटल प्रस्तुति गर्दै आफ्ना व्यावहारिक अनुभवहरू बाँडे । उनले विश्वका विभिन्न घटनाक्रममा खिचिएका फोटोहरू देखाउँदै पत्रकारितामा दृश्य संचारको महत्व औंल्याए ।
कार्यक्रममा केन्द्रीय पत्रकारिता तथा जनसञ्चार विभाग, त्रिभुवन विश्वविद्यालयका प्रमुख डा. कुन्दन आर्यालले स्नातक तहमा पत्रकारिता र जनसञ्चार अध्ययनको प्रवृत्ति र आवश्यकता बारे सम्बोधन गरे । उनले भनिन्, “प्रदेशका विद्यार्थीले अब राजधानीमा निर्भर नबई आफ्नै प्रदेशमै गुणस्तरीय पत्रकारिता शिक्षा प्राप्त गर्न सक्ने वातावरण निर्माण हुँदैछ, जुन प्रदेशकै मिडिया विकासका लागि सकारात्मक संकेत हो ।”
कार्यशालामा सहभागी प्राध्यापक, सञ्चारकर्मी र सरोकारवालाले राजर्षी जनक विश्वविद्यालयले सुरु गर्न लागेको ‘बिजेएमसी’ कार्यक्रमलाई समयानुकूल र उपयोगी कदमका रूपमा लिएका छन् । विश्वविद्यालयले अब आवश्यक पूर्वाधार तथा अध्यापन जनशक्ति तयारी गरी चाँडै कार्यक्रम संचालन गर्ने तयारी गरेको जनाएको छ ।

