जनकपुरधाम, १७ फागुन । नेपाल कम्युनिस्ट पार्टी (एमाले) की नेतृ तथा धनुषा क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार जुली कुमारी महतोले आइतबार आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेकी छन् ।
जनकपुरधामस्थित आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले क्षेत्रको समग्र विकासका लागि १० बुँदे कार्ययोजना अघि सारेकी हुन् ।
प्रतिबद्धता पत्रको पहिलो बुँदामा उनले धार्मिक तथा सांस्कृतिक धरोहरको संरक्षण र प्रवद्र्धनलाई प्राथमिकतामा राखेकी छन् । विवाहको पवित्र भूमिका रूपमा परिचित जानकी मन्दिर लाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने, यसलाई विश्वकै प्रमुख वैवाहिक गन्तव्यका रूपमा स्थापित गर्ने तथा ऐतिहासिक बाह्रबिघा क्षेत्रको सौन्दर्यीकरण गर्ने उल्लेख गरिएको छ ।
दोस्रो बुँदामा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारलाई जोड दिइएको छ। रामस्वरूप रामसागर बहुमुखी क्याम्पस र राजर्षि जनक विश्वविद्यालय को स्तरोन्नति, आधारभूत तथा माध्यमिक विद्यालयहरूको पूर्वाधार विकास, निःशुल्क तथा गुणस्तरीय शिक्षामा सबैको पहुँच सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। साथै प्रादेशिक अस्पतालको आधुनिकीकरण गरी प्रत्येक नागरिकलाई सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराइने योजना अघि सारिएको छ।
तेस्रो बुँदामा उद्योग क्रान्तिमार्फत रोजगारी वृद्धि गर्ने लक्ष्य राखिएको छ। उद्योग स्थापना गर्न सहुलियत ब्याजदरमा ऋण सुविधा, साना कृषक तथा व्यवसायीका लागि लघु बीमा, महिला, युवा, किसान र साना उद्यमीलाई बिना धितो कर्जा उपलब्ध गराउने योजना समावेश गरिएको छ। साथै औद्योगिक कोरिडोर निर्माण र बन्द अवस्थामा रहेको जनकपुर चुरोट कारखाना पुनः सञ्चालन गर्ने प्रतिबद्धता जनाइएको छ।
चौथो बुँदामा सडक तथा पूर्वाधार विकासलाई प्राथमिकता दिइएको छ। सबै गाउँ र बस्तीलाई बजारसँग सडकमार्फत जोड्ने, रणनीतिक सडक सञ्जालसँग स्थानीय सडकको कनेक्टिभिटी सुदृढ गर्ने तथा १५ दिने मिथिला माध्यमिकी परिक्रमाको मार्ग स्तरोन्नति र विश्रामस्थलको सौन्दर्यीकरण गर्ने योजना अघि सारिएको छ।
पाँचौँ बुँदामा चक्रपथ निर्माण, योजनाबद्ध बस्ती विस्तार, यातायात व्यवस्थापन सुधार तथा सफा, सुन्दर र आधुनिक महानगर निर्माण गर्ने लक्ष्य उल्लेख गरिएको छ।
युवालाई लक्षित गर्दै सातौँ बुँदामा “खेलमा जोश, युवामा होस” नारासहित रामजानकी बहुउद्देश्यीय रंगशाला र शहीद दुर्गानन्द झा रंगशाला सञ्चालनमा ल्याउने, खेल पर्यटन प्रवद्र्धन गर्ने तथा प्रत्येक वडामा एक खेलमैदान निर्माण गर्ने योजना समेटिएको छ।
यसैगरी “सीमा होइन, सेतु” नारामार्फत सीमावर्ती क्षेत्रको आर्थिक र सामाजिक सहकार्य सुदृढ गर्ने, “अन्नदाता हास्यो, देश जाग्यो” अभियानअन्तर्गत कृषकको आय वृद्धि गर्ने तथा “कसैलाई पछाडि नछाड्ने” समावेशी विकासको प्रतिबद्धता पनि महतोले व्यक्त गरेकी छन्।
उम्मेदवार महतोले आफ्नो प्रतिबद्धता पत्र कार्यान्वयनमुखी रहेको दाबी गर्दै जनताको विश्वास र मतमार्फत धनुषा–३ लाई समृद्धिको मार्गमा अघि बढाउने विश्वास व्यक्त गरिन् ।



