जनकपुरधाम, ७ चैत । बदलिँदो परिवेशसँगै राजनीतिक सहभागिता र उम्मेदवारहरूको निर्वाचन खर्च बढ्दै जाँदा समस्या तथा चुनौतीहरू पनि तीव्र बन्दै गएका छन् ।
राजनीतिमा सक्रिय हुन मात्र होइन, आम निर्वाचन जित्नसमेत दिनप्रतिदिन कठिन हुँदै गएको छ। विशेषतः दलित, विपन्न तथा आर्थिक रूपमा कमजोर समुदायका व्यक्तिहरूका लागि वर्तमान राजनीतिक संरचनामा सफल हुन झन् चुनौतीपूर्ण बन्दै गएको कार्यक्रममा सहभागीहरूले ठोकुवा गरेका छन्।
शनिबार जनकपुरधाममा दलित सरोकार मञ्चद्वारा आयोजित ‘राजनीतिक सहभागितामा बढ्दो आर्थिक भारः अनुसन्धानको सार प्रस्तुति तथा अन्तरक्रिया’ कार्यक्रममा वक्ताहरूले विगत र वर्तमान राजनीतिक अभ्यासबीच ठूलो अन्तर आएको उल्लेख गरे। पहिले राजनीति सेवा र विकासमुखी मानिन्थ्यो, तर अहिले आर्थिक लगानी र शक्ति प्रदर्शनको माध्यम बन्दै गएको उनीहरूको धारणा थियो।
धनुषा निर्वाचन क्षेत्र नं. ४ का पराजित प्रतिनिधिसभा उम्मेदवार डा. कृष्णचन्द्र साहले पार्टीभित्रै टिकट वितरणमा आर्थिक चलखेल हुने गरेको आरोप लगाए। उनका अनुसार पार्टीमा लगानी गर्न सक्ने र निर्वाचनमा ठूलो खर्च गर्न सक्ने व्यक्तिलाई मात्र टिकट दिइने प्रवृत्ति बढ्दो छ। उनले भने, “निर्वाचन प्रक्रियालाई कम खर्चिलो बनाउन नीतिगत सुधार आवश्यक छ। दल तथा नेतामाथि हुने विदेशी लगानी रोक्नुपर्छ, धर्म र संस्कृतिका आधारमा हुने राजनीति अन्त्य गर्नुपर्छ र निर्वाचन आयोगले समयअनुकूल प्रविधिको प्रयोग बढाउनुपर्छ।”
प्रदेश सांसद रुपा यादवले पनि राजनीति र निर्वाचन जित्न पर्याप्त आर्थिक स्रोत आवश्यक हुने बताइन्। उनका अनुसार निर्वाचन जितेपछि पनि चुनौतीहरू कम हुँदैनन्, किनकि खर्च बढ्दो छ, आम्दानी सीमित छ र जनताको अपेक्षा निरन्तर उकालो लागिरहेको छ। यस्तो अवस्थामा निष्पक्ष राजनीति गर्नु अत्यन्तै कठिन भएको उनले बताइन्।
अनौपचारिक क्षेत्र सेवा केन्द्रका मधेश प्रदेश संयोजक राजु पासमानले २०८२ को निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुन नसकेको टिप्पणी गरे । उनले निर्वाचन आचारसंहिता उल्लंघनका घटनामा कारबाही नहुनु चिन्ताजनक भएको बताए ।
मधेश प्रदेश नीति आयोगकी सदस्य डा. शिला मिश्रले जनचेतनाको कमी र कमजोर नीतिगत संरचनाका कारण निर्वाचन प्रक्रिया महँगो बन्दै गएको बताइन्। उनले पारदर्शिताको अभावले पनि राजनीतिक खर्च बढाउने प्रवृत्तिलाई बल दिएको उल्लेख गरिन् ।
मञ्चका अध्यक्ष भोला पासमानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ‘नेपालमा राजनीतिको लागत’ विषयक दुई डिजिटल प्रस्तुति गरिएको थियो । तिलक पाठक र दिनेश वाग्लेले प्रस्तुत गरेको अध्ययनमा निर्वाचनबाहेकको समयमा पनि पार्टी कार्यकर्ता व्यवस्थापन, बैठक प्रायोजन र सदस्यता विस्तारका लागि ठूलो रकम आवश्यक पर्ने देखाइएको छ ।
प्रस्तुतिअनुसार निर्वाचनका बेला उम्मेदवारहरूले नेता तथा कार्यकर्तामा खर्च गर्न सक्ने क्षमताका आधारमा टिकट पाउने र मतदाताको काम सहज रूपमा गरिदिने व्यक्तिलाई जित्ने सम्भावना बढी हुने उल्लेख गरिएको छ ।
पार्टीका सभासम्मेलन, कार्यकर्ता व्यवस्थापन र संगठन विस्तारमा हुने उच्च खर्चका कारण समग्र निर्वाचन प्रक्रिया दिनप्रतिदिन महँगिँदै गएको निष्कर्ष कार्यक्रममा प्रस्तुत गरिएको थियो। कार्यक्रममा विभिन्न दलका नेता, कार्यकर्ता तथा सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

