जनकपुरधाम, ७ चैत । मधेशी दलित समुदायका लागि पछिल्ला पाँच वर्ष ‘कालो दिन’ सावित भएको भन्दै त्रुटि सच्याउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउनेदेखि विभिन्न विरोधका कार्यक्रम गर्ने निर्णय दलित समुदायले गरेका छन् ।
‘६१औँ जातीय भेदभाव तथा उन्मूलन दिवस’को अवसरमा सरकारप्रति असन्तुष्टि जनाउँदै दलित समुदायले निर्वाचन आयोगसम्बन्धी ऐनमा त्रुटि रहेको भन्दै त्यसलाई सच्याउन माग गरेका छन् । उनीहरूले निर्वाचन प्रक्रियाअन्तर्गत समानुपातिकतर्फ सातवटा क्लस्टर छुट्याइएको भए पनि मधेशी दलितका लागि छुट्टै क्लस्टर नराखिएकोले सुधार गर्नुपर्ने बताएका छन् ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक प्रतिनिधित्वमा मधेशी दलित समुदाय नसमेटिनु समावेशिताको अभावको स्पष्ट संकेत भएको अनौपचारिक क्षेत्र सेवा केन्द्रका प्रदेश संयोजक राजु पासमानले बताए । उनले भने, “प्रतिनिधिसभामा मधेशी दलित समुदायबाट कोही पनि प्रतिनिधित्व भएन, यस्ता त्रुटिहरू सच्याउन आवश्यक छ ।”
त्यसैगरी मधेशकी पूर्व सांसद चमेली देवी दासले राज्यले ऐन तथा नीतिमा रहेका त्रुटि नसच्याए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिइन् । उनले भनिन्, “सडकदेखि सदनसम्म घेराउलगायतका आन्दोलन गर्ने, ऐनमा रहेका त्रुटि सच्याउन प्रधानमन्त्रीलगायत सम्बन्धित निकायमा ज्ञापनपत्र बुझाउने र त्यसका लागि पालिकादेखि प्रदेशसम्म संघर्ष समिति गठन गर्नेछौं ।”
दलित अगुवा रामो महराले आन्दोलन कसैको विरोधमा नभई अधिकार सुनिश्चिताका लागि भएको स्पष्ट पार्दै प्रत्यक्षतर्फ दलित आरक्षित निर्वाचन क्षेत्रको व्यवस्था गर्नुपर्ने माग राखे ।
सबै राजनीतिक दलका दलित भ्रातृ संगठनका अगुवाहरूको सहभागितामा भएको उक्त कार्यक्रममा सम्बन्धित निकाय गम्भीर नभए छिट्टै आन्दोलनको थप कार्यक्रम घोषणा गर्ने चेतावनी दिइएको छ ।
कार्यक्रममा विनोद महरा, राजाराम मण्डल, सुनिता मेस्तर्नी, रामवरण पासमान, किरण दास, सिजेन्द्र सदा, रेखा रामलगायत आठवटै जिल्लाका दलित अगुवाहरूको उपस्थिति रहेको थियो।
सन् १९६० मा दक्षिण अफ्रिकामा जातीय भेदभावविरुद्धको आन्दोलनमा राज्य पक्षले गोली प्रहार गरेपछि विश्वव्यापी आन्दोलन चर्किएको थियो । त्यसकै स्मरणमा संयुक्त राष्ट्र संघ ले सन् १९६६ देखि यस दिनलाई ‘जातीय भेदभाव तथा उन्मूलन दिवस’का रूपमा मनाउने घोषणा गरेको हो ।
सम्पन्न प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा मधेशी दलितहरुलाई समानुपाति प्रतिनिधित्वका लागि कुनै पनि दलले राखेको छैन । सोहीको आक्रोशमा मधेशी दलित समुदायहरु केही दिनदेखि आन्दोलित रहँदै आएको छ ।

