जनकपुरधाम, ८ चैत । धार्मिक तथा ऐतिहासिक नगरी जनकपुरधामसहित नेपाल र भारतका मिथिलाञ्चल क्षेत्रमा आज (आइतबार)देखि विधिवत् चैती छठ पर्व सुरु भएको छ ।
चार दिनसम्म विभिन्न विधि–विधानका साथ मनाइने यो पर्व तराईका धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत सम्पूर्ण मिथिलाञ्चल क्षेत्रमा श्रद्धा र भक्तिपूर्वक सुरु गरिएको हो ।
चैती छठलाई मध्यनजर गर्दै यहाँका धार्मिक सरोवर, विशेषगरी गंगासागरको पूर्वारी घाट सजाइएको छ । गंगासागर, धनुषसागर, अंगराज सरोवर, दशरथ तलाउलगायत स्थानमा हर्षोल्लासका साथ पर्व मनाइन्छ ।
त्यस्तै, महोत्तरीको जलेश्वर, मटिहानी, सुगा, गौशाला, पिपरा, सम्सी, बर्दिबासलगायत शहरी तथा ग्रामीण क्षेत्रमा रहेका विभिन्न पोखरी, तलाउ तथा बिग्ही, रातो मरहा, जङ्गहा, अंकुसीजस्ता नदी र नहरका किनारमा पनि धुमधामका साथ छठ मनाइँदैछ ।
यस पर्वले सत्य र अहिंसाप्रति मानवको आकर्षण बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न प्रेरित गर्ने विशेषता बोकेको जलेश्वर नगरपालिका–१ स्थित बाबा जलेश्वरनाथ महादेवका पुजारी कामेश्वर पाठकले बताए । उनका अनुसार सूर्य उपासनाको यो अद्वितीय परम्परा विश्वमै यस्तो पर्व हो, जसमा अस्ताउँदो र उदाउँदो दुवै सूर्यको पूजा गरिन्छ ।
पारिवारिक सुख, शान्ति, समृद्धि, स्वास्थ्य लाभ तथा मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ मनाइने यस पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलाशयमा श्रद्धालु भक्तजनको घुइँचो लाग्ने गर्दछ ।
चार दिनसम्म मनाइने चैती छठको पहिलो दिन (आज) व्रतीहरूले ‘नहाखा’ अर्थात् स्नान गरी शुद्ध भोजन गर्ने परम्परा छ । दोस्रो दिन (सोमबार) ‘खर्ना’ मनाइन्छ, जसमा व्रतीहरूले दिनभरि निराहार व्रत बसी साँझ कुलदेवताको पूजा गरी राति नुनरहित भोजन ग्रहण गर्छन् ।
तेस्रो दिन षष्ठीका दिन साँझ व्रतीहरूले विभिन्न परिकार, फलफूल तथा पूजा सामग्री नाङ्लो, ढाक्की आदिमा सजाएर छठघाटसम्म पुगी अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गर्छन् ।
अन्तिम दिन बिहानै पुनः घाटमा पुगी उदाउँदो सूर्यलाई अर्घ दिई विधिपूर्वक चैती छठ पर्व सम्पन्न गरिन्छ ।
पौराणिक मान्यताअनुसार, महाभारतकालमा द्रौपदीसहित पाण्डवहरूले अज्ञातवास सफल होस् भनी सूर्यदेवको आराधना गरेका थिए । त्यसैगरी सूर्यपुराणमा पत्नी अनुसूयाले सर्वप्रथम छठ व्रत आरम्भ गरेको उल्लेख पाइन्छ । यही परम्परादेखि छठ पर्व मनाउने चलन सुरु भएको जनविश्वास छ ।

