वीरेन्द्र कर्ण
जनकपुरधाम, ९ चैत । बारम्बार हुने सत्ता गठबन्धनको फेरबदल तथा प्रशासनिक नेतृत्व बदलि रहँदा मधेश प्रदेशमा चालु आ.ब.को ८ महिनामा ६.७१ प्रतिशत पूँजीगत खर्च भएको छ ।
चालु आ.ब.मा मधेश प्रदेशको कूल बजेट ३० अर्ब ५१ करोड ७८ लाख ३४ हजार रहेको छ । यसैगरी मधेश प्रदेश सरकारको चालु तर्फ १६ अर्ब ४६ करोड, ५५ लाख १७ हजार बजेट रहेकोमा चालु आ.ब.को फागुन मसान्तसम्ममा २०.७४ प्रतिशत अर्थात् ३ अर्ब ४१ करोड ५७ लाख ५२ हजार खर्च भएको प्रदेश लेखा नियन्त्रणक कार्यालय जनकपुरधामले जनाएको छ ।
मधेश प्रदेशको अधिकांश मन्त्रालयहरुमा कर्मचारी र सचिव पर्याप्त नहुनु, सरकार स्थिर नहुनु, आफू खुशी बजेट बाँडफाँड गर्नु जस्ता कारणले आर्थिक वर्ष सकिन्न केही महिना मात्र बाँकी रहेपनि आधी बजेट पनि खर्च हुन नसकेको हो । आर्थिक वर्ष सम्पन्न हुन अब ४ महिना मात्र बाँकी रहँदा यहाँका केही मन्त्रालयहरुमा सचिवहरुको उपस्थिति न्यून रहेको, निमित्तको भरमा मन्त्रालय चलेको, बजेटमा मितब्ययता नभएकोले यो अवस्था आएको कर्मचारीहरु बताउँछन् । यति मात्र नभएर कतिपय सचिवहरु विदामा बस्ने र जानकारी बिनै सरुवा गराउने प्रवृतिको कारण चालु आ.ब.को ८ महिना वितिसक्दा पनि बजेट कार्यान्वयनमा चुनौती थपिएको छ । एकातिर मधेश सरकारको मन्त्रालयमा योजनाहरु भद्रगोल अवस्थामा रहेको छ भने अर्कोतिर उपभोक्ता समिति मार्फत काम गराउने गरेको, कर्मचारी, सचिव, मन्त्री र सरकारबीच सुमधुर सम्बन्ध कायम नहुँदा मधेश प्रदेशको विकास निर्माणको कार्य प्रायः प्रभावित हुन गएको छ ।
अघिल्लो वर्ष मधेश प्रदेशमा कुल बजेट ४४ अर्ब ११ करोड ४० लाख ३२ हजार रहेकोमा १८.७ प्रतिशत मात्र खर्च हुन सकेको लेखा अधिकृत अशोक प्रसाद साहले बताउनुभयो ।

