जनकपुरधाम, ११ चैत । ‘विश्व क्षयरोग दिवस’को अवसरमा सबैला नगरपालिकामा विभिन्न सचेतनामूलक कार्यक्रम गरी दिवस मनाइएको छ । ‘‘हो, हामी क्षयरोग अन्त्य गर्छौं : राष्ट्रिय अभियानमा हाम्रो योगदान’’ भन्ने मूल नारासहित मार्च २४ मा दिवस मनाइएको हो।
प्लान इन्टरनेशनल नेपालको साझेदारीमा जानकी महिला जागरण समाजद्वारा सञ्चालित ‘सशक्त बालिका परियोजना’ अन्तर्गत प्रारम्भिक बाल विकास, बाल संरक्षण तथा स्वास्थ्य सूचक सुधारका क्षेत्रमा विविध कार्यक्रम सञ्चालन गरिँदै आएका छन् ।
सबैला नगरपालिका वडा नं. १०, ११ र १३ मा आयोजित समुदाय भेलामा स्वास्थ्यकर्मी तथा परियोजनामा आबद्ध कर्मचारीहरूले क्षयरोगको संक्रमण प्रक्रिया, यसको प्रकार, उपचार विधि र औषधि सेवनका बारेमा चित्र प्रदर्शनसहित प्रशिक्षण दिएका छन् । कार्यक्रममा वक्ताहरूले क्षयरोगको उपचार स्थानीय तहमै उपलब्ध भएकाले पहिलेझैं जनकपुरधाम धाउनुपर्ने बाध्यता नरहेको बताए।
वडा सदस्य देवन राउत कुर्मीले टोल–छिमेकमा रहेका शंकास्पद बिरामीलाई स्वास्थ्य परीक्षणका लागि प्रेरित गर्नुपर्नेमा जोड दिँदै पुष्टि भएका बिरामीले नियमित रूपमा औषधि सेवन गरेमा रोग नियन्त्रण सम्भव हुने बताए ।
स्वास्थ्य संयोजक गुलेश्वर गरेरीले पालिकामा क्षयरोगका बिरामी रहेको उल्लेख गर्दै समुदाय र स्वास्थ्यकर्मीबीच सहकार्य गरेर रोग नियन्त्रणको लक्ष्य हासिल गर्नुपर्ने बताए। कार्यक्रममा करिब एक सय जनाको सहभागिता रहेको आयोजकले जनाएको छ।

