जनकपुरधाम, १३ चैत । मधेश प्रदेशमा बालिकामाथि हुने यौन हिंसाका घटनाहरू चिन्ताजनक रूपमा उच्च देखिएका छन्। प्रदेश सरकारले बालिकालाई शिक्षित, सचेत र आत्मनिर्भर बनाउने लक्ष्य अघि सारे पनि वास्तविकता भने त्यसको ठीक उल्टो देखिएको छ ।
इन्सेकद्वारा प्रकाशित ‘मानव अधिकार वर्ष पुस्तक २०२६’ अनुसार सन् २०२५ मा मात्रै मधेशका आठ जिल्लामा कम्तीमा १३९ बालिका यौन हिंसाको सिकार भएका छन् । यो सार्वजनिक भएका घटनाहरूको मात्र तथ्यांक हो; समाजमा लुकाइएका धेरै घटनाहरू अझै बाहिर नआएको अनुमान गरिएको छ ।
तथ्यांकअनुसार सप्तरीमा १३ बालिका पीडित भएका छन्, जसमा ७ बलात्कार, १ सामूहिक बलात्कार र ५ यौन दुव्र्यवहारका घटना छन् । सिरहामा २३ बालिका पीडित छन । १२ बलात्कार, ३ सामूहिक बलात्कार, ६ यौन दुव्र्यवहार र २ विद्यालयमा दिने गरेको दण्डका घटना उजगार भएको छ ।
धनुषामा ३१ बालिका प्रभावित भएका छन्, जसमा ११ बलात्कार, १ सामूहिक बलात्कार, १७ यौन दुव्र्यवहार, १ बेचबिखन तथा १ विद्यालयीय दण्डका घटना छन् । महोत्तरीमा १८ बालिका पीडित छन -१३ बलात्कार, २ सामूहिक बलात्कार, २ यौन दुव्र्यवहार र १ ओसारपसार रहेको छ ।
सर्लाहीमा २९ बालिका पीडित भएका छन्, जसमा २४ बलात्कार, २ यौन दुव्र्यवहार र ३ ओसारपसारका घटना छन् । रौतहटमा ७ बालिका पीडित छन-३ बलात्कार र ४ यौन दुव्र्यवहार भएको छ ।
बारामा १० बालिका पीडित भएका छन्, जसमा ५ बलात्कार, ४ सामूहिक बलात्कार र १ यौन दुव्र्यवहार छन्। पर्सामा १९ बालिका पीडित छन । जसमध्ये १३ जना बलात्कारको शिकार, २ जना हाडनाता करणी, १ यौन दुव्र्यवहार र ३ ओसारपसारका घटना समावेश
छन् ।
यी तथ्यांकहरूले मधेश प्रदेशमा बालिकाको सुरक्षाको अवस्था गम्भीर संकटमा रहेको देखाउँछन् । बालिकामाथि हुने यौन हिंसा रोक्न कानुनी कडाइ, सामाजिक सचेतना र प्रभावकारी कार्यान्वयन अपरिहार्य देखिएको छ ।

