जनकपुरधाम, १७ वैशाख । जनकपुरधाममा पछिल्ला दिनहरूमा मोटरसाइकल चोरीका घटनाहरू बढ्दै गएका छन्।
जनकपुरधाम उपमहानगरपालिका–३ मा बुधबार साँझ मधेश प्रदेश ०२–०१ प ०४५५ नम्बरको २०० सीसी क्षमताको केटीएम मोटरसाइकल चोरी भएको छ। उक्त मोटरसाइकल हँसपुर नगरपालिका–३ निवासी विशाल मण्डलको नाममा दर्ता रहेको र केही दिनअघि मात्र खरिद गरिएको बताइएको छ।
प्राप्त जानकारीअनुसार मण्डलले मोटरसाइकल सडकछेउमा राखी आफन्तसँग भेट्न गएका बेला अज्ञात व्यक्तिहरूले मोटरसाइकल चोरी गरेका हुन्। मोटरसाइकल धनी मण्डलका अनुसार एकजना व्यक्तिले मोटरसाइकल स्टार्ट गरी लैजान खोज्दा उनले हल्ला गरेका थिए। तर सोही समयमा आएको हावाहुरीका कारण अवस्था झनै जटिल बनेको र चोरहरू भाग्न सफल भएको उनले बताएका छन्।
घटनापछि तत्काल प्रहरीलाई जानकारी गराइएको भए पनि समाचार तयार पार्दासम्म मोटरसाइकल फेला पर्न सकेको छैन। पछिल्ला दिनमा मोटरसाइकल चोरीका घटना बढ्दै गएकाले स्थानीयले सुरक्षामा थप सतर्कता अपनाउन र सम्बन्धित निकायले प्रभावकारी निगरानी बढाउनुपर्ने आवश्यकता औंल्याएका छन्।
जानकी प्रहरी चौकीका अनुसार उक्त मोटरसाइकल चोरीको घटना दर्ता भइसकेको छ र चोरको खोजी तथा अनुसन्धान भइरहेको बताइएको छ।


