जनकपुरधाम, १८ वैशाख । मधेश प्रदेश प्रहरी कार्यालयले लागुऔषध नियन्त्रणका लागि ‘लागुऔषध सेवनकर्ता खोजी एवं सुधार महाअभियान’ सञ्चालनमा ल्याएको छ।
महाअभियानअन्तर्गत शुक्रबार प्रदेशका आठवटै जिल्लाका प्रहरी प्रमुख तथा मातहतका प्रहरी चौकीलाई ब्रिफिङ गर्दै प्रहरी नायब महानिरीक्षक गोविन्द थपलियाले अभियानको औपचारिक शुभारम्भ भएको जानकारी दिनुभयो।
अभियानअन्तर्गत सीमावर्ती नाकामा लागुऔषध परीक्षण केन्द्र स्थापना गरिनेछ। ‘ड्रग टेस्ट किट’ प्रयोगमार्फत व्यक्तिले लागुऔषध सेवन गरेको छ वा छैन भन्ने पहिचान गरिने प्रहरीले जनाएको छ।
लागुऔषध सेवनकर्ता खोजी, उपचार र पुनःस्थापनामा केन्द्रित मधेश प्रहरीको महाअभियान सुरु, सीमाक्षेत्रमा कडा निगरानी तथा कानुनी कारबाही गरिने
सीमाक्षेत्रमा नियमित आवतजावत गर्ने युवायुवतीको तथ्याङ्क सङ्कलन गरी निगरानीसमेत गरिने योजना रहेको छ।त्यस्तै, लागुऔषध सेवनकर्तालाई सीमा नाकामै एक घण्टे सचेतनामूलक प्रशिक्षण दिइनेछ। उनीहरूको अभिलेख तयार गरी नियमित ट्र्याकिङको व्यवस्था समेत मिलाइने प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
प्रदेश प्रहरीका अनुसार अभियानलाई प्रभावकारी बनाउन प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय तथा सरकारी एवं गैरसरकारी सङ्घसंस्थासँग सहकार्य गरिनेछ।
लागुऔषध सेवनकर्ताको उपचार, सुधार तथा सामाजिक पुनःस्थापनाका लागि खेलकुद, मनोरञ्जन, सीपमूलक तालिम र रोजगारीमूलक कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।
यसैबीच, लागुऔषध ओसारपसार तथा कारोबारमा संलग्न औषधि पसल, अन्य स्थान र मुख्य कारोबारीलाई निगरानीमा राखी कडा कानुनी कारबाही गरिने चेतावनी समेत प्रहरीले दिएको छ।
प्रदेश प्रहरी कार्यालयले प्रदेश सरकार, स्थानीय तह र सरोकारवाला निकायको समन्वयमा महाअभियान अघि बढाइएको जनाएको छ।


