जनकपुरधाम, १३ जेठ । तराई–मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)ले संविधान संशोधन बहस–पत्र तयार गर्न बनेको कार्यदललाई आफ्नो सुझाव पठाएको छ ।
पार्टीका अध्यक्ष वृषेशचन्द्र लालले तराई मधेश लोकतान्त्रिक पार्टीको तर्फबाट पार्टीको धारणा अनुसार संविधान संशोधनको सुझाव पेश गरेको बताइएको छ ।
तमलोपाले संविधान संशोधनको आवश्यकता, औचित्य र मूल विषयवस्तुबारे कार्यदलले स्पष्ट धारणा सार्वजनिक गरेपछि मात्रै सार्थक बहस सम्भव हुने भन्दै कार्यदलको कार्यविधि र शैलीमाथि प्रश्न उठाएको हो ।
पार्टीले प्रस्तावनाको मूल भावना नबदल्न आग्रह गर्दै ‘जन आन्दोलन’ पछि ‘मधेश आन्दोलन र विद्रोह’ शब्द थप्नुपर्ने सुझाव दिएको छ । साथै गैरआवासीय नेपाली नागरिकतामा समान व्यवस्था हुनुपर्ने, मधेशलाई पूर्वी र पश्चिमी गरी दुई प्रदेशमा पुनर्सीमाङ्कन गर्नुपर्ने तथा संघीयतालाई कमजोर पार्ने कुनै पनि प्रयास स्वीकार्य नहुने उल्लेख गरेको छ ।
तमलोपाले राष्ट्रिय सभामा जनसंख्याका आधारमा प्रतिनिधित्व सुनिश्चित गर्न, प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पूर्ण समानुपातिक प्रणाली लागू गर्न र स्थानीय तहको निर्वाचन गैरदलीय आधारमा गराउनुपर्ने माग पनि अघि सारेको छ ।



