जनकपुरधाम, २३ जेठ । मधेश प्रदेश सरकारका खेलकुद तथा समाज कल्याणमन्त्री लखन दास तत्माले आगामी बजेटमा दलित समुदायका बालबालिकाका लागि निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्न बजेट विनियोजन गरिने बताएका छन्।
तत्मा बौद्धिक समाज धनुषा नेपालको मधेश प्रदेशस्तरीय प्रथम भेलालाई सम्बोधन गर्दै मन्त्री तत्माले आर्थिक रूपमा सबैभन्दा कमजोर अवस्था दलित समुदायको रहेको उल्लेख गर्दै समुदायको समृद्धिका लागि शिक्षा नै मुख्य आधार भएको बताए।

उनले दुई प्रकारको शिक्षा प्रणालीका कारण दलित समुदायका बालबालिका सबैभन्दा बढी प्रभावित हुने गरेको उल्लेख गर्दै समान अवसर सुनिश्चित गर्न एकीकृत शिक्षा प्रणाली लागू गर्नुपर्नेमा जोड दिए।
मन्त्री तत्माले विशेषगरी अति विपन्न दलित तथा मुस्लिम समुदायका लागि आवास, स्वास्थ्य, खानेपानी र शौचालय निर्माणसम्बन्धी विशेष कार्यक्रम अघि सारिएको जानकारी दिए।
“मधेश प्रदेशका १० हजारभन्दा बढी दलित तथा मुस्लिम परिवारलाई लक्षित गरी आवास तथा आधारभूत पूर्वाधार निर्माण कार्यक्रम सञ्चालन गरिनेछ,” उनले भने।
युवा शक्तिलाई वैदेशिक रोजगारीतर्फ पलायन हुनबाट रोक्न सीपमूलक तालिम, व्यावसायिक दक्षता विकास तथा सहुलियतपूर्ण ‘स्टार्टअप लोन’ उपलब्ध गराउने मन्त्रालयको योजना रहेको पनि मन्त्री तत्माले बताए। उनका अनुसार महिला, दलित, पिछडिएका तथा आर्थिक रूपमा कमजोर समुदायलाई लक्षित गरी स्वरोजगारमूलक कार्यक्रमसमेत ल्याइनेछ।
उनले दलित, मुस्लिम तथा अति विपन्न परिवारका लागि पक्की आवास निर्माण, बालबालिकाको शिक्षा, स्वास्थ्य सेवा तथा खेलकुद क्षेत्रलाई समेटेर आकर्षक योजनाहरू आगामी बजेटमा समावेश गरिएको बताए। आवश्यक सरकारी प्रक्रिया पूरा गरी बजेट भाषणपछि ती कार्यक्रमको कार्यान्वयन प्रक्रिया तत्काल सुरु गरिने उनको भनाइ थियो।

तत्मा बौद्धिक समाज धनुषाका अध्यक्ष रामबाबु दासको अध्यक्षतामा सम्पन्न भेलामा मधेश प्रदेशका आठवटै जिल्लाबाट तत्मा समुदायका अगुवाहरूको सहभागिता रहेको थियो।कार्यक्रमलाई विदेह नगरपालिकाका मेयर बेचन दास, दलित अगुवा राजकुमार दासलगायत भारतबाट आएका विभिन्न सामाजिक तथा राजनीतिक क्षेत्रका प्रतिनिधिहरूले समेत सम्बोधन गरेका थिए।



