जनकपुरधाम, २६ जेठ । धनुषाको गणेशमान चारनाथ नगरपालिका–६ स्थित प्रोग्रेशिभ फाइनान्स लिमिटेडको कार्यालय परिसरबाट एक मोटरसाइकल चोरी भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका–१६ निवासी चन्दनकुमार दासको नाममा रहेको ज १३ प १७७० नम्बरको सुजुकी जिक्सर मोटरसाइकल कार्यालय परिसरबाट चोरी भएको हो ।
पीडित दासका अनुसार उनी उक्त कार्यालयमा कार्यरत छन् । कामका क्रममा कार्यालय परिसरमा पार्किङ गरी राखिएको मोटरसाइकल चोरी भएको उनले बताए । चोरी सम्बन्धमा नजिक रहेको पोर्तहा इलाका प्रहरी कार्यालय कार्यालयमा निवेदन दिइसकेको भए पनि हालसम्म मोटरसाइकल फेला नपरेको उनको भनाइ छ ।
प्रहरीमा दर्ता गरिएको निवेदनअनुसार सुजुकी जिक्सर १५० सीसी मोडलको उक्त मोटरसाइकल जेठ २५ गते बिहान करिब २ बजेदेखि २ः३० बजेको बीचमा चोरी भएको जनाइएको छ । मोटरसाइकलको रङ कालो र सुनौलो (ब्ल्याक एन्ड गोल्ड) रहेको उल्लेख गरिएको छ।
पीडितले मोटरसाइकलको खोजी गरी चोरीमा संलग्न व्यक्तिमाथि आवश्यक कानुनी कारबाही गर्न प्रहरीसँग माग गरेका छन्। प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ।



