जनकपुरधाम, ३० जेठ । महोत्तरीको बर्दिबास नगरपालिका–१२ मा एक विवाहित महिलाको रहस्यमय मृत्यु भएपछि माइती पक्ष र प्रहरीबीच झडप तथा तोडफोड हुँदा अवस्था तनावग्रस्त बनेको छ ।
शुक्रबार राति करिब ८ बजे आक्रोशित भीडले घर परिसरमा पार्क गरिएका एक कारमा आगजनी गरेको थियो भने एक मोटरसाइकल र स्कुटरमा तोडफोड गरेको थियो । प्रहरीले आगो नियन्त्रणमा लिए पनि घरभित्रका सामान बाहिर निकालेर क्षति पु¥याइएको स्थानीयले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी पञ्चलाल गोलेका अनुसार बर्दिबास नगरपालिका–१२ डाँडाटोल निवासी शशी सिंहकी श्रीमती रिंकु कुमारी सिंह आफ्नै सुत्ने कोठामा पंखा झुन्ड्याउने सिलिङमा सलको पासो लगाई झुन्डिएको अवस्थामा फेला परेकी थिइन्।

घटनाबारे अनुसन्धान भइरहेको डीएसपी गोलेले जानकारी दिए।
स्थानीयवासीका अनुसार मृतक महिलामाथि लामो समयदेखि पारिवारिक यातना हुँदै आएको आरोप छ। घटनापछि आक्रोशित भीड र प्रहरीबीच केहीबेर झडपसमेत भएको बताइएको छ । प्रहरीले घटनाको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान अघि बढाएको जनाएको छ।



