जनकपुरधाम, ५ असार । मधेश प्रदेशमा पछिल्लो पाँच वर्षको अवधिमा २९ हजार १ सय ८३ वटा सवारी दुर्घटना हुँदा २ हजार ७ सय ४८ जनाले ज्यान गुमाएको तथ्यांक सार्वजनिक भएको छ। दुर्घटनाका कारण हजारौं नागरिक घाइते भएका छन् भने सडक सुरक्षा प्रदेशकै गम्भीर चुनौतीका रूपमा देखिएको छ।
बिहीबार जनकपुरधाममा आयोजित ‘प्रदेशस्तरीय सडक सुरक्षासम्बन्धी कार्यशाला गोष्ठीमा प्रस्तुत मधेश प्रदेश टूाफिक प्रहरी कार्यालयको तथ्यांकअनुसार दुर्घटनामा ४१ हजार ६ सय ९७ वटा मोटरसाइकल तथा चारपांग्रे सवारी साधन संलग्न भएका छन्। दुर्घटनाबाट १० हजार ८ सय ६६ जना गम्भीर घाइते भएका छन् भने ३६ हजार १ सय ४२ जना सामान्य घाइते भएका छन्।
दुर्घटनामा ज्यान गुमाउनेमध्ये पुरुषको संख्या सबैभन्दा बढी रहेको छ। तथ्यांकअनुसार २ हजार ८५ पुरुष, ४ सय १४ महिला, १ सय ५१ बालक र ४८ बालिकाको मृत्यु भएको छ। साथै, १ सय ५७ वटा जनावर पनि दुर्घटनाको सिकार बनेका छन्।
टूाफिक प्रहरीको विश्लेषणअनुसार अधिकांश दुर्घटनाको मुख्य कारण चालकको लापरवाही र असावधानी रहेको छ। प्रदेशमा हुने कुल दुर्घटनामध्ये करिब ६७ प्रतिशत मोटरसाइकल दुर्घटना रहेका छन्, जसले दुईपांग्रे सवारी साधन प्रयोगकर्ताको जोखिम उच्च रहेको देखाउँछ।
तथ्यांकले दुर्घटनाका अधिकांश घटना साँझ तथा रातिको समयमा हुने गरेको देखाएको छ। अपर्याप्त सडक सुरक्षा, तीव्र गति, टूाफिक नियमको उल्लंघन तथा कमजोर सडक अनुशासन दुर्घटनाका प्रमुख कारणका रूपमा औँल्याइएको छ।
राष्टिूय स्तरको तथ्यांक पनि उत्तिकै चिन्ताजनक छ । पछिल्लो १० वर्षमा नेपालभर १ लाख ८० हजार ४ सय ७४ वटा सडक दुर्घटना भएका छन्। ती दुर्घटनामा २४ हजार ६ सय ४८ जनाको मृत्यु भएको छ भने ५४ हजार १ सय ८० जना गम्भीर घाइते भएका छन्। औसतमा नेपालमा प्रत्येक दिन सडक दुर्घटनाका कारण सात जनाले ज्यान गुमाउने गरेका छन्।
सडक दुर्घटनाको बढ्दो दरले सडक सुरक्षा, टूाफिक व्यवस्थापन, जनचेतना अभिवृद्धि तथा कडा कानुनी कार्यान्वयनको आवश्यकता थप महसुस गराएको सरोकारवालाहरूले बताएका छन्। एआईद्वारा निर्मित तस्वीर



