जनकपुरधाम, ५ असार । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सरकारलाई पर्याप्त अधिकार नदिइएकै कारण अपराध नियन्त्रण, सुरक्षा व्यवस्थापन तथा सेवा प्रवाह प्रभावकारी हुन नसकेको बताउनुभएको छ ।
बिहीबार जनकपुरधाममा आयोजित प्रदेशस्तरीय सडक सुरक्षासम्बन्धी कार्यशालागोष्ठीलाई सम्बोधन गर्दै उहाँले संघीय संरचनाको कार्यान्वयनमा देखिएको कमजोरीप्रति असन्तुष्टि व्यक्त गर्नुभयो। प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउने प्रतिबद्धता गरिए पनि व्यवहारमा संघ सरकारले प्रदेशलाई अधिकारविहीन बनाएको उहाँको आरोप थियो ।
मुख्यमन्त्री यादवले प्रदेश सरकारसँग आफ्नै प्रहरी प्रशासन, कर्मचारी संरचना तथा आवश्यक अधिकार नहुँदा जनअपेक्षाअनुसार काम गर्न कठिन भइरहेको बताउनुभयो। “प्रदेशको प्रमुख विषय नै प्रदेश प्रहरी प्रशासन र कर्मचारी व्यवस्थापन हो। तर त्यसमा अधिकार नहुँदा प्रदेशले प्रभावकारी रूपमा काम गर्न सक्दैन,” उहाँले भन्नुभयो, “अहिले पनि सुरक्षा निकाय, कर्मचारी संयन्त्रलगायत अधिकांश संरचना संघ सरकार मातहत छन्। यसले प्रदेश सरकारको निर्णय कार्यान्वयनमा समस्या सिर्जना गरेको छ।”
उहाँले प्रदेशलाई आवश्यक अधिकार नदिई संघीयता कार्यान्वयनको अपेक्षा गर्नु व्यवहारिक नहुने उल्लेख गर्दै प्रदेश सरकारलाई ‘अधिकारविहीन’ बनाइएको टिप्पणी गर्नुभयो। सडक सुरक्षा, टूाफिक व्यवस्थापन तथा दुर्घटना न्यूनीकरणका लागि आवश्यक बजेट, स्रोत(साधन र अधिकारको अभाव प्रमुख चुनौती बनेको उहाँको भनाइ थियो।
मुख्यमन्त्री यादवले सडक दुर्घटना न्यूनीकरण र सुरक्षित यातायात व्यवस्थापनका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै यसका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको धारणा राख्नुभयो।
कार्यक्रममा श्रम तथा यातायातमन्त्री शारदा देवी थापाले सडक दुर्घटना न्यूनीकरणका लागि जनचेतना अभिवृद्धि अपरिहार्य रहेको बताउनुभयो। विद्यालय तहमा टूाफिक शिक्षाको अभ्यास सकारात्मक रहेको उल्लेख गर्दै उहाँले महिला समूह तथा समुदायस्तरसम्म सडक सुरक्षासम्बन्धी सचेतना कार्यक्रम विस्तार गर्नुपर्नेमा जोड दिनुभयो।
प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष राजकुमार सिंहले सडक सुरक्षालाई नीतिगत प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याउँदै प्रमाणमा आधारित नीति निर्माण, सडक पूर्वाधार सुधार तथा सम्बन्धित निकायबीच सहकार्य सुदृढ गर्नुपर्ने बताउनुभयो।मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक ओमप्रसाद अधिकारीले टूाफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन पर्याप्त बजेट, जनशक्ति र अधिकार आवश्यक रहेको बताउनुभयो। सडक दुर्घटनाका कारणहरूको वैज्ञानिक अध्ययन गरी नीतिगत सुधार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।
भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव ओमराज ढुङ्गानाले सडक सुरक्षामा सुधारका लागि सबै सरोकारवाला निकायको सामूहिक प्रयास आवश्यक रहेको बताउनुभयो। मन्त्रालयका सहसचिव इन्जिनियर शुभराज न्यौपानेले सडक सुरक्षासम्बन्धी विषयलाई विद्यालय तहको पाठ्यक्रममै समावेश गर्नुपर्ने सुझाव दिनुभयो।



