जनकपुरधाम ८ असार । नेपाल पत्रकार महासंघ मधेश प्रदेशको पाँचौँ साधारणसभाले संघीयता, प्रेस स्वतन्त्रता र पत्रकारिताको व्यावसायिक मर्यादासम्बन्धी विभिन्न विषय समेट्दै सात बुँदे घोषणापत्र जारी गरेको छ ।
महोत्तरीको बर्दिबासस्थित गौतम होटलमा असार ६ गते सम्पन्न साधारणसभाले संघीय सरकारले परिपत्रमार्फत प्रदेश तथा स्थानीय सरकारको अधिकार क्षेत्रमा हस्तक्षेप गरेको भन्दै त्यसलाई संघीयताको मर्म र संविधानविपरीत कदमको रूपमा व्याख्या गरेको छ । घोषणापत्रमा यस्ता गतिविधिविरुद्ध प्रदेश तथा स्थानीय सरकारसँग समन्वय र सहकार्य गर्दै प्रतिकार गर्न अपिल गरिएको छ।
महासंघले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने संघीय सरकारको प्रेसविरोधी परिपत्र तत्काल खारेज गर्न निरन्तर दबाब सिर्जना गर्ने निर्णय पनि गरेको छ। साथै मधेश प्रदेश सरकारसँग सहकार्य गरी प्रदेश समिति तथा आठवटै जिल्ला शाखाको संस्थागत सुदृढीकरण, पत्रकार कल्याण तथा पत्रकारिता विकाससम्बन्धी कार्यक्रम सञ्चालनका लागि पहल जारी राख्ने जनाएको छ।
घोषणापत्रमा प्रदेश तथा स्थानीय तहलाई प्रेसमैत्री बनाउन आवश्यक नीति, कानुन तथा कार्यक्रम निर्माण र कार्यान्वयनका लागि सम्बन्धित निकायसँग समन्वय र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
पत्रकारिता आचारसंहिताविपरीत हुने गतिविधिप्रति महासंघले स्पष्ट धारणा सार्वजनिक गर्दै त्यस्ता कार्यको जिम्मेवारी सम्बन्धित व्यक्तिकै हुने उल्लेख गरेको छ। प्रेस काउन्सिल नेपाल वा अन्य निकायमा परेका उजुरीका आधारमा हुने कारबाही प्रक्रियामा महासंघले हस्तक्षेप नगर्ने पनि घोषणापत्रमा उल्लेख छ।
त्यसैगरी सामाजिक सञ्जालमा गरिएका व्यक्तिगत अभिव्यक्तिलाई पत्रकारितासँग जोडेर गलत भाष्य निर्माण गर्ने प्रवृत्तिविरुद्ध सचेतना अभियान सञ्चालन गरिने जनाइएको छ।
महासंघले पत्रकारिताको नाममा हुने अनैतिक, गैरकानुनी तथा पेशाविपरीत गतिविधिप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्ने तथा दोषीमाथि कारबाहीका लागि सम्बन्धित निकायलाई आवश्यक सहयोग गर्ने जनाएको छ। साथै विभिन्न जालझेलमार्फत पत्रकारलाई फसाउने वा अनावश्यक कारबाही गर्ने कार्यको निरन्तर विरोध गर्दै त्यसविरुद्ध संघर्ष गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।
महासंघका महासचिव शैलेन्द्र महतो ‘क्रान्ति’द्वारा जारी घोषणापत्रमा पाँचौँ साधारणसभा सफल बनाउन योगदान पु¥याउने प्रमुख अतिथि, विशिष्ट अतिथि, विभिन्न तहका पदाधिकारी, सदस्य, सल्लाहकार, प्रतिनिधि तथा सहभागीहरूप्रति आभार व्यक्त गरिएको छ। साथै सम्पूर्ण पत्रकारलाई संघीयता, लोकतन्त्र, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा दृढतापूर्वक उभिन आग्रह गरिएको छ।



