काठमाडौं १८ असार। सरकारले बालश्रम अन्त्य, सुरक्षित कार्यस्थलको प्रवर्द्धन तथा स्वदेशमै उद्यमशीलता विकासमा योगदान पुर्याउने स्थानीय तह, औद्योगिक प्रतिष्ठान र उद्यमीलाई राष्ट्रियस्तरमा सम्मान गरेको छ।
युवा, श्रम तथा रोजगार मन्त्रालयले बिहीबार आयोजना गरेको कार्यक्रममा बालश्रममुक्त घोषणा गरेका १३ स्थानीय तह, व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य (ओएसएच) क्षेत्रमा उत्कृष्ट कार्य गर्ने ६ औद्योगिक प्रतिष्ठान तथा वैदेशिक रोजगारीबाट फर्किएर नेपालमै सफल उद्यम सञ्चालन गरिरहेका ७ उद्यमीलाई सम्मान गरिएको हो।
मन्त्रालयका अनुसार वैदेशिक रोजगारीको अनुभवलाई स्वदेशमै उत्पादन र रोजगारी सिर्जनामा रूपान्तरण गर्दै अर्थतन्त्रमा योगदान पुर्याएका उद्यमीलाई ‘राष्ट्रिय उद्यमी पुरस्कार’ प्रदान गरिएको छ। मोरङका लोकबहादुर राईद्वारा सञ्चालित प्रशंसा हनी फार्म सर्वोत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कारबाट सम्मानित भएको छ। उक्त पुरस्कारसँगै एक लाख ५० हजार रुपैयाँ नगद प्रदान गरिएको छ।
यस्तै, झापाको मनिका एण्ड युनिका बंगुर फार्म उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कारबाट सम्मानित भएको छ। सप्तरीको ग हिल कुटानी पिसानी उद्योग, सिन्धुलीको एमजी एग्रो फार्म, पर्वतको एस.के. कृषि तथा पशुपक्षी फार्म, अर्घाखाँचीको दिपेश एण्ड विवेश कृषि तथा पशुपक्षी फार्म तथा बाजुराको न्यू कालिका अटो पार्ट्स ले पनि उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार प्राप्त गरेका छन्। यी प्रत्येक पुरस्कारको राशी ७५ हजार रुपैयाँ रहेको मन्त्रालयले जनाएको छ।
श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यसम्बन्धी २२ वटा सूचकका आधारमा उत्कृष्ट ठहरिएका ६ औद्योगिक प्रतिष्ठानलाई पनि सम्मान गरेको छ। सम्मानित हुनेमा कैलालीको नवजीवन अस्पताल, पूर्वी नवलपरासीको होङ्सी शिवम् सिमेन्ट, रुपन्देहीको अम्बे स्टिल, हेटौंडाको एसियन पेन्ट्स, सिराहाको मारुती सिमेन्ट तथा सुनसरीको मैनावती स्टिल इन्डस्ट्रिज रहेका छन्। कर्णाली प्रदेशबाट भने आवेदन नपरेकाले कुनै पनि प्रतिष्ठान छनोट हुन नसकेको मन्त्रालयले जनाएको छ।
बालश्रममुक्त घोषणा गरी सम्मानित हुने स्थानीय तहमा म्याग्दीको रघुगंगा गाउँपालिका, रोल्पाको त्रिवेणी गाउँपालिका, कपिलवस्तुको बाणगंगा नगरपालिका, इलामको सूर्योदय नगरपालिका, तनहुँको म्याग्दे गाउँपालिका, भोजपुरको पौवादुङमा गाउँपालिका, बाग्लुङको बरेङ गाउँपालिका, स्याङ्जाको विरुवा गाउँपालिका, काभ्रेपलाञ्चोकको पनौती नगरपालिका, हुम्लाको खार्पूनाथ गाउँपालिका, स्याङ्जाको फेदीखोला गाउँपालिका, कपिलवस्तुको बुद्धभूमि नगरपालिका तथा काठमाडौंको चन्द्रागिरि नगरपालिका रहेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले श्रमिकको सुरक्षा, बालश्रमको अन्त्य, श्रम कानुनको प्रभावकारी कार्यान्वयन तथा स्वदेशमै रोजगारी र उद्यमशीलताको वातावरण निर्माणबाट मात्र समृद्ध राष्ट्रको आधार तयार हुने बताए।
उनले बालबालिकाको स्थान श्रम बजार नभई विद्यालय र खेलमैदान हुनुपर्नेमा जोड दिँदै बालश्रममुक्त घोषणा गरेका १३ स्थानीय तहको प्रशंसा गरे। साथै, अन्य सबै स्थानीय तहलाई पनि यस्ता अभियानलाई प्राथमिकतामा राख्न आग्रह गरे।
सरकारले बालश्रममुक्त घोषणा गर्न स्थानीय तहलाई प्रोत्साहनस्वरूप तीन लाख रुपैयाँ तथा घोषणा सम्पन्न भएपछि थप दुई लाख रुपैयाँ अनुदान उपलब्ध गराउने व्यवस्था गरेको छ। मन्त्री यादवले जिम्मेवार व्यवसाय सञ्चालनले श्रमिकको सुरक्षा, सम्मान र उत्पादनशीलता बढाउने उल्लेख गर्दै सरकारले सुरक्षित कार्यस्थल र जिम्मेवार श्रम अभ्यासलाई निरन्तर प्रोत्साहन गर्ने नीति लिएको बताए।
स्वदेश फर्किएर उद्यम स्थापना गर्ने युवाले रोजगारी सिर्जना र आर्थिक गतिविधि विस्तारमा पुर्याएको योगदान उल्लेखनीय रहेको भन्दै उनले यस्ता उद्यमी अन्य युवाका लागि प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गरे। मन्त्रालयले सम्मान तथा प्रोत्साहनका यस्ता कार्यक्रमले बालश्रम अन्त्य, सुरक्षित कार्यस्थल निर्माण र स्वदेशमै उद्यमशीलता प्रवर्द्धनमा थप उत्साह जगाउने अपेक्षा गरेको जनाएको छ।



