जनकपुरधाम, २० असार । मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री मनोज सिंहले भाषा, कला, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनबिना कुनै पनि समाजको समग्र विकास सम्भव नहुने बताएका छन् । उनले मधेशको मौलिक पहिचान जोगाउने, भाषा–साहित्यको संवद्र्धन गर्ने तथा कलाकार र स्रष्टाको सम्मान सुनिश्चित गर्ने उद्देश्यले मधेश प्रज्ञा प्रतिष्ठानको स्थापना गरिएको उल्लेख गर्दै यसको संस्थागत सुदृढीकरणमा प्रदेश सरकार गम्भीर रहेको स्पष्ट पारे ।
मधेश प्रज्ञा प्रतिष्ठानको वार्षिकोत्सवका अवसरमा आयोजित ‘नवप्रतिभा खोजी तथा सम्मान’ कार्यक्रममा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै मन्त्री सिंहले संघीय शासन प्रणालीको मूल मर्म नै स्थानीय भाषा, संस्कृति, कला र पहिचानको संरक्षण तथा प्रवद्र्धन रहेको बताए ।
उनले भने, “जहाँको भाषा, कला र संस्कृति जीवित रहन्छ, त्यही समाजको पहिचान पनि बलियो हुन्छ । यदि यी पक्षको संरक्षण हुन सकेन भने समाजको विकास पनि अधुरो रहन्छ । संघीयताको सार नै स्थानीय पहिचानलाई स्थापित गर्नु र ओझेलमा परेका प्रतिभालाई उजागर गर्नु हो ।”
मन्त्री सिंहले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेको करिब एक महिना मात्र भएकाले विगतका गतिविधिबारे धेरै टिप्पणी नगर्ने उल्लेख गर्दै आगामी दिनमा उपलब्ध स्रोत र साधनको अधिकतम सदुपयोग गर्दै भाषा, साहित्य, कला र संस्कृतिको विकासका लागि योजनाबद्ध रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले मधेश प्रज्ञा प्रतिष्ठानलाई स्पष्ट कार्ययोजना तयार गरी मन्त्रालयमा पेस गर्न आग्रह गर्दै त्यसअनुसार बजेट व्यवस्थापन गर्न आफू सकारात्मक रहेको बताए ।
“प्रतिष्ठानले दीर्घकालीन योजना ल्याओस्, मन्त्रालयले आफ्नो क्षमताअनुसार आवश्यक बजेटको व्यवस्था गर्नेछ । स्रोत सीमित भए पनि भाषा, साहित्य र संस्कृतिको संरक्षणमा सरकार पछि हट्दैन,” मन्त्री सिंहले भने ।
मन्त्री सिंहले प्रदेश सरकारको आर्थिक अवस्थाबारे पनि खुलस्त धारणा राख्दै मधेश प्रदेशमा १३६ वटा स्थानीय तह भए पनि मन्त्रालयको बजेट दुईवटा पालिकाको बजेट बराबरसमेत नरहेको बताए । सीमित स्रोत–साधनका बाबजुद मधेशको पहिचानसँग जोडिएका संस्था र गतिविधिलाई संरक्षण तथा प्रवद्र्धन गर्न मन्त्रालय प्रतिबद्ध रहेको उनको भनाइ थियो ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष रामभरोष कापडीको अध्यक्षतामा प्रदेशभरिका साहित्यकार, कलाकार, भाषाविद् तथा सांस्कृतिक व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो । वक्ताहरूले भाषा, कला र संस्कृतिको संरक्षणका लागि राज्यको लगानी अत्यन्त न्यून रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
राजनीतिक विश्लेषक तथा वरिष्ठ पत्रकार नित्यानन्द मण्डलले संघीयता प्राप्तिको आन्दोलनमा कलाकार, साहित्यकार तथा सांस्कृतिक अभियन्ताको महत्वपूर्ण योगदान रहेको स्मरण गराउँदै संघीयताको मूल भावना नै पहिचानको संरक्षण भएको बताए ।
उनले भने, “संघीयता सहज रूपमा प्राप्त भएको होइन । यसको प्राप्तिका लागि विभिन्न क्षेत्रका नागरिकले योगदान दिएका छन् । तर आज संघीयताको मूल उद्देश्य नै कमजोर बनाउने गरी भाषा, कला र संस्कृतिप्रति राज्य उदासीन देखिएको छ । यदि कलाकारको सम्मान, भाषाको संरक्षण र संस्कृतिको विकास हुन सकेन भने संघीयताको आधार नै कमजोर बन्दै जानेछ ।”
कलाकार सलमा खातुनले मधेश प्रदेश भाषिक विविधताको अनुपम भूमि भएको उल्लेख गर्दै यहाँ ८९ भन्दा बढी मातृभाषा बोलिने तथ्य प्रस्तुत गरिन् । उनले ती सबै भाषाको समान रूपमा संरक्षण र विकास हुनुपर्नेमा जोड दिँदै समावेशी नीतिको प्रभावकारी कार्यान्वयनबिना सामाजिक न्याय सम्भव नहुने बताइन् ।
उनले राज्यले भाषा र संस्कृतिको संरक्षणमा समान व्यवहार गर्न नसकेको आरोप लगाउँदै भाषा तथा संस्कृतिलाई राज्यको प्राथमिकतामा राख्न आग्रह गरिन् ।
कलाकार मनोज यादवले पहिचानको आन्दोलनबाट स्थापित भएको संघीय शासन व्यवस्थामा सबैभन्दा बढी उपेक्षा भाषा, कला र संस्कृतिले नै भोग्नुपरेको टिप्पणी गरे। उनले कलाकार राष्ट्रको सांस्कृतिक सम्पत्ति भए पनि उनीहरूको प्रतिभाको संरक्षण र प्रवद्र्धनमा राज्य गम्भीर नदेखिएको बताए।
उनका अनुसार मधेश प्रज्ञा प्रतिष्ठानजस्ता संस्थाहरूलाई पर्याप्त बजेट र नीतिगत सहयोग उपलब्ध गराउन सके मात्र नयाँ पुस्तामा कला र संस्कृतिप्रतिको आकर्षण बढ्न सक्छ।
त्यसैगरी कलाकार ओमप्रकाश कर्णले कलाकारको सम्मान र संरक्षणबिना समृद्ध मधेश तथा पहिचानसहितको समाज निर्माण असम्भव रहेको धारणा राखे। उनले कलाकारको सामाजिक सुरक्षा, सिर्जनात्मक वातावरण र संस्थागत संरक्षणका लागि प्रदेश सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने आवश्यकता औँल्याए।
कार्यक्रममा सातै प्रदेशबाट आएका कलाकार, साहित्यकार, भाषाविद् तथा सांस्कृतिक अभियन्ताहरूले आ–आफ्नो धारणा राख्दै भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणका लागि राज्यको लगानी वृद्धि गर्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रमको विशेष आकर्षणका रूपमा ‘नवप्रतिभा खोजी’ अन्तर्गत विभिन्न विधाका नवप्रतिभाशाली कलाकारहरूले आफ्नो सिर्जना, गायन, नृत्य तथा अन्य सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए। उत्कृष्ट प्रतिभाहरूलाई सम्मानपत्र प्रदान गरी सम्मानित गरिएको थियो।
कार्यक्रमले मधेशको बहुभाषिक, बहुसांस्कृतिक र बहुआयामिक पहिचानलाई थप सशक्त बनाउँदै नयाँ पुस्ताका कलाकारलाई प्रोत्साहन गर्ने सन्देश दिएको सहभागीहरूले बताएका छन्।



