विराटनगर, २४ असार । विराटनगरमा नागरिकता बनाइदिने प्रलोभन देखाएर सर्वसाधारणलाई ठगी गर्दै नक्कली नागरिकता तयार गर्ने गिरोहको पर्दाफास भएको छ। घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
मजदुरी गरेर जीविकोपार्जन गर्दै आएकी एकल महिला मनिषा कामतलाई नागरिकता बनाउने प्रक्रिया थाहा नभएको अवस्थामा विराटनगर–११ का करिब ६५ वर्षीय अशोककुमार श्रेष्ठले आफूलाई प्रशासनसँग पहुँच भएको व्यक्ति भन्दै नागरिकता बनाइदिने आश्वासन दिएका थिए। त्यसबापत उनले मनिषा र उनका मामाको नागरिकता बनाइदिने भन्दै एक लाख ३० हजार रुपैयाँ असुलेका थिए।
मनिषाले आवश्यक कागजात, फोटो र रकम महेन्द्रचोकमा श्रेष्ठलाई बुझाएकी थिइन्। तीन दिनपछि श्रेष्ठले उनलाई नागरिकता उपलब्ध गराए। नागरिकता पाएपछि उत्साहित भएकी मनिषा बुधबार राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय मोरङ पुगेकी थिइन्।
तर, त्यहाँ पुगेपछि प्रशासनका कर्मचारीले उनको नागरिकता नक्कली भएको जानकारी दिए। सुरुमा उनले विश्वास नगरी “तपाईंहरूले नै जारी गरेको नागरिकता कसरी नक्कली हुन्छ ?” भन्दै प्रश्न गरेकी थिइन्।
त्यही समयमा कार्यालयको निरीक्षण गरिरहेका मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले सोधपुछ गर्दा नागरिकता नक्कली भएको पुष्टि भएको थियो।
त्यसपछि प्रशासनले अनुसन्धान अघि बढाउँदै अशोककुमार श्रेष्ठलाई पक्राउ गरेको थियो। पक्राउका क्रममा उनको साथबाट थप १० थान नक्कली नागरिकता बरामद भएको प्रहरीले जनाएको छ। यसबाहेक दुई जना अन्य व्यक्तिले पनि त्यही समूहबाट नागरिकता लिएको भन्दै प्रशासनको सम्पर्कमा आएका छन्।
बरामद भएका नागरिकतामा नेपाल सरकारको होलोग्राम, प्रशासनको छाप तथा जारी गर्ने अधिकृतको हस्ताक्षरसम्म सक्कलीजस्तै प्रयोग गरिएको थियो। ती नागरिकता २०६८ देखि २०८२ सालसम्मको मिति राखेर जारी गरिएको देखिएको छ। जन्मदर्ता फाराम, नागरिकता आवेदन, राष्ट्रिय परिचयपत्रका फाराम तथा वडा कार्यालयका सिफारिस निवेदनलगायत विभिन्न सरकारी कागजात पनि श्रेष्ठको साथबाट बरामद भएको छ।
अनुसन्धानका क्रममा विराटनगर–५ स्थित ‘न्यू डोली फोटो सर्भिसेज’ सञ्चालन गर्दै आएका ३८ वर्षीय धनदेव राजवंशीलाई पनि पक्राउ गरिएको छ। प्रारम्भिक अनुसन्धानअनुसार श्रेष्ठ र राजवंशीले सोही फोटो स्टुडियोलाई नक्कली नागरिकता छाप्ने केन्द्रका रूपमा प्रयोग गर्दै आएका थिए।
सुरुमा संलग्नता अस्वीकार गरेका राजवंशीले पछि श्रेष्ठले ल्याएका १०–११ वटा नागरिकता आफूले प्रिन्ट गरिदिएको स्वीकार गरेका छन्। प्रहरीले उनको स्टुडियोबाट महत्त्वपूर्ण कागजात तथा उपकरणसमेत बरामद गरेको छ।
प्रमुख जिल्ला अधिकारी कटेलले नक्कली नागरिकतामा होलोग्राम, अधिकृतको हस्ताक्षर र लेमिनेसनसमेत सक्कलीजस्तै प्रयोग गरिएको विषय अत्यन्त गम्भीर रहेको बताए। उनका अनुसार यो समूहले संगठित रूपमा सर्वसाधारणलाई नागरिकताको नाममा ठगी गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
पक्राउ परेका दुवै जनालाई नक्कली नागरिकता, बरामद कागजात तथा अन्य प्रमाणसहित थप अनुसन्धान र कानुनी कारबाहीका लागि प्रहरीको जिम्मा लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।



