महोत्तरी, २४ असार । रोटरी क्लब अफ बर्दीबासले नेपाल रेडक्रस सोसाइटी बर्दीबास उपशाखाद्वारा सञ्चालित रक्तसञ्चार केन्द्रलाई करिब ७० लाख रुपैयाँ मूल्यको अत्याधुनिक ब्लड कम्पोनेन्ट सेपरेटर (रक्त अवयव छुट्याउने मेसिन) हस्तान्तरण गरेको छ।
मधेश प्रदेशकी श्रम तथा यातायातमन्त्री शारदादेवी थापा, बर्दीबास नगरपालिकाका प्रमुख प्रह्लाद क्षेत्री तथा रोटरीका केन्द्रीय पदाधिकारीहरूले भारतको ग्रेटर तेजपुर रोटरी क्लबको सहकार्यमा प्राप्त उक्त मेसिनसहित सात प्रकारका स्वास्थ्य सामग्री मंगलबार अपराह्न हस्तान्तरण गरेका हुन्।
हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै मन्त्री थापा, नगरप्रमुख क्षेत्री, रोटरीका निवर्तमान गभर्नर विनोद कोइराला तथा कृष्णप्रसाद गौतमलगायत वक्ताले शिक्षा, स्वास्थ्य र सामाजिक सेवाका क्षेत्रमा रोटरी क्लब अफ बर्दीबासले पु¥याएको योगदानको प्रशंसा गरे। उनीहरूले रक्तसञ्चार सेवालाई प्रभावकारी र दिगो बनाउन सबै पक्षबीच सहकार्य आवश्यक रहेकोमा जोड दिए।
नयाँ मेसिन सञ्चालनमा आएपछि बर्दीबासस्थित रक्तसञ्चार केन्द्रबाट प्रवाह हुने सेवा थप प्रभावकारी, गुणस्तरीय र सहज हुने अपेक्षा गरिएको छ। यसबाट महोत्तरीसँगै सर्लाही र सिन्धुलीका बिरामीले पनि प्रत्यक्ष लाभ पाउने विश्वास गरिएको छ।
वि.सं. २०७३ सालदेखि सञ्चालनमा रहेको बर्दीबास रक्तसञ्चार केन्द्रले हाल वार्षिक दुई हजारभन्दा बढी युनिट रगत आपूर्ति गर्दै आएको छ। तर प्लेटलेट्स तथा अन्य रक्त अवयवको वार्षिक करिब एक हजार पाँच सय युनिट आवश्यकता रहे पनि आवश्यक उपकरण अभावका कारण सेवा विस्तार गर्न नसकिएको नेपाल रेडक्रस सोसाइटीले जनाएको छ।
रोटरी क्लब अफ बर्दीबासका अध्यक्ष इन्द्रप्रसाद ढुङ्गेल (सीताराम)ले तीन वर्षको प्रयासपछि अत्याधुनिक ब्लड कम्पोनेन्ट सेपरेटर हस्तान्तरण गर्न पाउँदा गौरव र सन्तुष्टि मिलेको बताए।
उनका अनुसार नयाँ प्रविधिको यो मेसिनले रक्तदाताबाट सङ्कलन गरिएको होल ब्लडलाई रातो रक्तकोष, प्लाज्मा र प्लेटलेट्सलगायत विभिन्न रक्त अवयवमा छुट्याउन सक्छ। यसबाट एउटै रक्तदानबाट तीन जनासम्म बिरामीको उपचारमा सहयोग पुग्ने भएकाले बर्दीबास क्षेत्रका लागि यो महत्वपूर्ण उपलब्धि हुने उनले बताए।
नेपाल रेडक्रस सोसाइटी बर्दीबास उपशाखाका सभापति भुवन खड्काले हालसम्म प्लेटलेट्स, प्लाज्मालगायत रक्त अवयव आवश्यक पर्दा बिरामी र उनका आफन्तले जनकपुर, वीरगन्ज वा काठमाडौं पुग्नुपर्ने बाध्यता रहेको बताए।
उनका अनुसार कम्पोनेन्ट सेपरेटर सञ्चालनका लागि आवश्यक पूर्वाधार तयार भइसकेको छ। प्राविधिक व्यवस्थापन पूरा गर्न केही समय लाग्ने भएकाले आगामी साउन १ गतेदेखि रक्तसञ्चार केन्द्रबाट प्लेटलेट्स, प्लाज्मालगायत रक्त अवयव उत्पादन तथा वितरण सेवा औपचारिक रूपमा सुरु गरिनेछ।



