जनकपुरधाम, ६ साउन । गैरसरकारी संस्था आफन्त नेपाल, धनुषा शाखाले हजारौंको संख्यामा मानव बेचबिखन तथा लैङ्गिक हिंसा सम्बन्धी घटनामा सहयोगका साथै उद्दारको कार्य गरेको जनाइएको छ । आर्थिक वर्ष २०८२÷८३ मा मानव बेचबिखन तथा लैङ्गिक हिंसासम्बन्धी घटनामा प्रभावित करिब चार हजार जनालाई विभिन्न सेवा तथा सहयोग उपलब्ध गराएको हो ।
संस्थाकी अध्यक्ष अमृता घिरिमिरेले उपलब्ध गराएको तथ्यांकअनुसार गत आर्थिक वर्षमा कुल ३ हजार ७६५ जना विभिन्न सेवाबाट लाभान्वित भएका छन्।
संस्थाले सार्वजनिक गरेको वार्षिक प्रगति विवरणअनुसार सूचना सम्प्रेषण सेवामार्फत सबैभन्दा बढी १ हजार ७६५ जना लाभान्वित भएका छन्। त्यसैगरी, १ हजार ५०३ जनालाई परामर्श सेवा, १९२ जनाको उद्धार तथा बचावट, १६२ जनाको प्रहरीको सहयोगमा घटना व्यवस्थापन तथा १९१ जनालाई आपत्कालीन आवास गृह सेवा प्रदान गरिएको छ।
त्यसैगरी, १५७ जनाको पारिवारिक पुनर्मिलन गरिएको छ भने ११ जनालाई सुरक्षित आवास गृहमा रेफरल गरिएको छ। संस्थाले चार जनालाई कानुनी सहायता उपलब्ध गराएको छ भने हराएका तथा प्रभावित ७३ जनालाई खोजी गरी परिवारको सम्पर्कमा ल्याएको जनाएको छ।
संस्थाका अनुसार विद्यालय तहमा सञ्चालन गरिएको मानव बेचबिखन तथा लैङ्गिक हिंसाविरुद्धको सचेतनामूलक कार्यक्रमबाट ३७० जना विद्यार्थी लाभान्वित भएका छन्।
यसअघि आर्थिक वर्ष २०८१÷८२ मा पनि संस्थाले उल्लेखनीय सेवा प्रदान गरेको थियो। सो अवधिमा सूचना सम्प्रेषण सेवाबाट ४ हजार २३० जना, परामर्श सेवाबाट १ हजार ४३ जना, उद्धार तथा बचावटबाट १९३ जना र प्रहरीको सहयोगमा घटना व्यवस्थापनमार्फत १६३ जना लाभान्वित भएका थिए। साथै १८५ जनालाई आपत्कालीन आवास सेवा, १८८ जनाको पारिवारिक पुनर्मिलन, १८ जनालाई सुरक्षित आवास गृहमा रेफरल, चार जनालाई कानुनी सहायता तथा ७३ जना हराएका व्यक्तिको खोजी गरी परिवारसँग पुनः सम्पर्क गराइएको थियो।
संस्थाले मानव बेचबिखन, लैङ्गिक हिंसा तथा महिला र बालबालिकामाथि हुने हिंसा न्यूनीकरणका लागि उद्धार, पुनस्र्थापना, परामर्श, कानुनी सहायता, पारिवारिक पुनर्मिलन तथा जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ । एआईद्वारा निर्मित तस्वीर



