जनकपुरधाम, १४ साउन । धनुषा जिल्ला प्रशासन कार्यालयले जनकपुरधाम-नगराइन क्षेत्रको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै चारकिल्ला तोकेर कफ्र्यु आदेश जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलले बुधबार जारी गरेको आदेश अनुसार जिल्ला सुरक्षा समितिको निर्णयबमोजिम साउन १४ गते दिउँसो ३ः३० बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कफ्र्यु लागू गरिएको हो ।
आदेशअनुसार कफ्र्यु अवधिभर तोकिएको क्षेत्रमा कुनै पनि व्यक्ति आवतजावत गर्न, भेला हुन, जुलुस निकाल्न, प्रदर्शन गर्न, सभा गर्न तथा धर्ना दिन पूर्ण रूपमा निषेध गरिएको छ । आदेशको उल्लङ्घन गर्ने व्यक्तिमाथि प्रचलित कानुनबमोजिम कारबाही गरिने प्रशासनले जनाएको छ ।
प्रशासनले कफ्र्युको क्षेत्रसमेत निर्धारण गरेको छ । उत्तरतर्फ लक्ष्मिनिया गाउँपालिका–७ स्थित हटबजार चोकदेखि पश्चिम सिञ्जुरजोडा चोक हुँदै पूर्वमा लक्ष्मिपुर नोबासम्म, पूर्वतर्फ बेलौनी रोडस्थित एम.यु. स्टिलबाट ५०० मिटर पूर्व पेट्रोल पम्प हुँदै हुलाकी सडकदेखि राष्ट्रिय प्राथमिक विद्यालयसम्म, दक्षिणतर्फ नगराइन नगरपालिका क्षेत्रदेखि नगराइन चोकसम्म तथा पश्चिमतर्फ सिञ्जुरजोडा–सोहनी–मनिपण्डप–नेपाल नर्सरी–इस्कोन–जनकपुर–दुधमती पुल–बेला हुँदै कादरी मस्जिदसम्मको क्षेत्र कफ्र्युभित्र पर्ने जनाइएको छ।
जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई कफ्र्यु आदेशको पूर्ण पालना गर्न आग्रह गर्दै शान्ति, सुरक्षा र सार्वजनिक सुव्यवस्था कायम राख्न सहयोग गर्न अपिल गरेको छ।



