जनकपुरधाम, १४ साउन । सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज क्षेत्रमा दुई समुदायबीच भएको हिंसात्मक घटनाको प्रभाव मधेशका विभिन्न जिल्लामा फैलिन थालेपछि सिरहा, सर्लाही र धनुषामा सुरक्षा व्यवस्था कडा पारिएको छ । विभिन्न स्थानमा झडप, आगजनी, तोडफोड र प्रदर्शन भएपछि स्थानीय प्रशासनले कफ्र्यु आदेश जारी गरेको छ ।
सिरहाको गोलबजार क्षेत्रमा दुई पक्षबीच झडप हुँदा दुई जना घाइते भएका छन् । प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन केही स्थानमा गोली चलाएको जनाएको छ। घाइते दुवै जनालाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ।
प्रदर्शनका क्रममा प्रदर्शनकारीले एक मोटरसाइकल ग्यारेजमा आगजनी गर्दा ११ वटा मोटरसाइकल पूर्ण रूपमा नष्ट भएको प्रहरीले जनाएको छ। गोलबजार नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।
सुनसरी घटनाकै प्रभाव सर्लाहीमा पनि देखिएको छ। दुई समूहबीच भएको झडपपछि विभिन्न स्थानमा प्रदर्शन जारी रहेको छ। कफ्र्यु आदेश जारी गरिए पनि केही स्थानमा प्रदर्शन नरोकिएको सुरक्षा स्रोतले जनाएको छ।
उता धनुषा जिल्ला प्रशासन कार्यालयले जनकपुरधाम–नगराइन क्षेत्रको सुरक्षा अवस्थालाई दृष्टिगत गर्दै बुधबार दिउँसो ३ः३० बजेदेखि अर्को आदेश नभएसम्मका लागि चारकिल्ला तोकेर कफ्र्यु आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलद्वारा जारी आदेशअनुसार कफ्र्यु अवधिभर तोकिएको क्षेत्रमा आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा तथा धर्नालगायत सबै गतिविधिमा पूर्ण प्रतिबन्ध लगाइएको छ। आदेश उल्लङ्घन गर्नेलाई प्रचलित कानुनअनुसार कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ।
यस्तै, जिल्ला प्रशासन कार्यालय सिरहाले पनि गोलबजार नगरपालिकाको संवेदनशील क्षेत्रमा बिहीबार दिउँसो २ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कफ्र्यु आदेश लागू गरेको छ। जिल्ला सुरक्षा समितिले पछिल्लो सुरक्षा अवस्थाको विश्लेषणपछि आन्दोलन वा हुलदंगा भई शान्ति–सुरक्षामा थप जोखिम उत्पन्न हुन सक्ने निष्कर्षका आधारमा कफ्र्यु लागू गरिएको जनाएको छ।
प्रशासनले सर्वसाधारणलाई अफवाहमा नलाग्न, कफ्र्यु आदेशको पूर्ण पालना गर्न तथा शान्ति, सुरक्षा र सार्वजनिक सुव्यवस्था कायम राख्न सुरक्षा निकायलाई सहयोग गर्न आग्रह गरेको छ।



