जनकपुरधाम १४ साउन । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले तराई-मधेशका विभिन्न क्षेत्रमा पछिल्ला दिनमा देखिएको साम्प्रदायिक तनाव, हिंसा र जनधनको क्षतिप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै भट्टराईले देशमा असहज परिस्थिति निर्माण हुँदै जानु अत्यन्त गम्भीर र राष्ट्रिय चिन्ताको विषय भएको बताएका हुन् ।
उनले विवेकमाथि आवेग हावी हुँदै गए परिस्थिति थप अकल्पनीय बन्न सक्ने चेतावनी दिएका छन् । विभिन्न दृश्य तथा अदृश्य शक्तिहरूले परिस्थितिको फाइदा उठाउन सक्ने भन्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्र र राष्ट्रिय स्वाधीनतामाथि समेत खतरा उत्पन्न हुन सक्ने बताएका छन् ।
‘भाइ फुटे गँवार लुटे’ भन्ने उखान उद्धृत गर्दै भट्टराईले संकटको यस घडीमा सरकार, राजनीतिक दल, विभिन्न जाति, धर्म तथा समुदायका देशभक्त नागरिक एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।
उनले आसन्न संकटलाई तत्काल नियन्त्रणमा लिन सबै पक्षले बिना कुनै किन्तु–परन्तु सहकार्य गर्नुपर्ने बताएका छन् । उनका अनुसार राज्यका उच्च तहका नेतृत्व, राजनीतिक दल तथा सामुदायिक नेताबीच ढिलै भए पनि संवाद र सहकार्य सुरु हुनु सकारात्मक संकेत हो ।
भट्टराईले विगतका गल्ती–कमजोरीको समीक्षा पछि गर्न सकिने भन्दै तत्काल घृणा, आवेग र आक्रोशको वातावरण अन्त्य गर्न सबै पक्षलाई आग्रह गरेका छन् ।
‘देश र लोकतन्त्र रहे हामी सबै रहन्छौँ’ भन्ने धारणा राख्दै उनले अहिलेको प्राथमिकता देशमा शान्ति, सद्भाव र लोकतान्त्रिक व्यवस्था जोगाउनु हुनुपर्ने बताएका छन् ।



