जनकपुरधाम, १४ साउन । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा मृत्यु भएका दुई युवाका परिवार र गृह मन्त्रालयबीच ६ बुँदे सहमति भएको छ ।
गत साउन १० गते भएको दुःखद घटनामा मृत्यु भएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका अभिभावक तथा गृह मन्त्रालयबीच सहमति भएको हो । सहमतिअनुसार मृतकलाई नेपाल सरकारबाट सहिद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाइने र मृतकका परिवारलाई सरकारका तर्फबाट जनही १० लाख रुपैयाँ राहत उपलब्ध गराइने भएको छ ।
सहमतिपत्रमा साउन १० गते राति देवानगञ्ज–३, कप्तानगञ्जमा भएको घटनाको निष्पक्ष तथा प्रभावकारी छानबिन गरी दोषीमाथि प्रचलित कानुनबमोजिम आवश्यक कारबाही प्रक्रिया तत्काल अघि बढाउने उल्लेख छ ।

त्यस्तै, देवानगञ्ज गाउँपालिका–३ स्थित मदरसाको कानुनी हैसियत तथा सम्बन्धित विषयमा आवश्यक छानबिन तत्काल प्रारम्भ गर्ने सहमति भएको छ ।
मृतकका परिवारका एक–एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने पनि सहमति भएको छ । घटनाबारे अध्ययन गर्न गठित छानबिन समितिले पेस गर्ने प्रतिवेदनका सुझाव तथा सिफारिस प्रचलित कानुनबमोजिम यथाशीघ्र कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाउने सहमतिमा उल्लेख छ ।
यसैगरी, मृतकद्वयको सम्झनामा देवानगञ्ज गाउँपालिकाको उपयुक्त क्षेत्रमा स्थानीय सरकारसँगको समन्वयमा स्मृति पार्क निर्माण गर्ने सहमति भएको छ ।
सहमति पत्रमा मृतक ओमप्रकाश मेहता र जयप्रकाश मेहताका अभिभावकका तर्फबाट हस्ताक्षर गरिएको छ भने सरकारका तर्फबाट गृहमन्त्री सुमन गुरुङले हस्ताक्षर गरेका छन् ।



