जनकपुरधाम, १५ साउन । सुनसरीको देवानगञ्ज घटनापछि उत्पन्न तनावका कारण धनुषामा जारी कफ्र्युका बीच जिल्लाको शान्ति–सुरक्षा अवस्था सामान्य बनाउन जिल्ला प्रशासन कार्यालयले सर्वपक्षीय छलफल सुरु गरेको छ ।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलको आह्वानमा सुरु भएको छलफलमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, मधेश प्रदेशसभा सदस्य, बुद्धिजीवी, उद्योगी–व्यवसायी, धार्मिक अगुवा तथा नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता रहेको छ ।
छलफलमा जिल्लाको पछिल्लो सुरक्षा अवस्था, सामाजिक सद्भाव कायम गर्ने उपाय, कफ्र्यु व्यवस्थापन तथा जनजीवनलाई सहज बनाउने विषयमा व्यापक छलफल भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
सुनसरी घटनापछि धनुषामा तनाव बढेपछि बिहीबार दिउँसो ३ः३० बजेदेखि जनकपुरधाम उपमहानगरपालिका तथा नगराइन र लक्ष्मीनिया गाउँपालिकाका केही क्षेत्रमा अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरिएको थियो। कफ्र्यु दोस्रो दिन पनि यथावत् रहेपछि जनजीवन प्रभावित बनेको छ।
यसबीच जनकपुरधामका प्रमुख चोक तथा संवेदनशील क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको व्यापक परिचालन गरिएको छ। सुरक्षा निकायले गस्ती र निगरानीलाई समेत थप सुदृढ बनाएको छ।
जिल्ला प्रशासनका अनुसार सर्वपक्षीय छलफल सकारात्मक निष्कर्षमा पुगेमा आजै सामाजिक सद्भाव र शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यले सद्भाव ¥याली आयोजना गर्ने तयारी गरिएको छ। प्रशासनले सबै पक्षलाई संयमता अपनाउँदै शान्ति, सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न सहयोग गर्न आग्रह गरेको छ।



