जनकपुरधाम, १६ साउन । दुई समुदायबीच उत्पन्न तनावलाई साम्य पार्दै जिल्लाको शान्ति सुरक्षा सुदृढ बनाउन गृहमन्त्री सुदन गुरुङ शनिबार धनुषा पुग्नुभएको छ।
तनावग्रस्त अवस्थालाई सामान्य बनाउने तथा धार्मिक–सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले गृहमन्त्री गुरुङले जिल्ला प्रशासन कार्यालय धनुषामा हिन्दूवादी सङ्गठनका प्रतिनिधिसँग वार्ता सुरु गर्नुभएको हो।
वार्तामा जिल्लाको समग्र शान्ति सुरक्षा, अमनचयन कायम राख्ने, आपसी विश्वास अभिवृद्धि गर्ने तथा दुवै पक्षबीच देखिएको असमझदारी अन्त्य गर्ने विषयमा छलफल भइरहेको छ।
छलफलमा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह, प्रतिनिधिसभा सदस्य मनिष झा, हिन्दू सम्राट सेनाका प्रतिनिधिलगायत स्थानीय सरोकारवालाको सहभागिता रहेको छ।



