जनकपुरधाम, २३ साउन । मानव अधिकार तथा सामाजिक न्यायका क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै महत्वपूर्ण योगदान पुर्याउँदै आएका राजु पासवानलाई ‘बैद्य–प्रकाश मानव अधिकार पुरस्कार–२०८३’ प्रदान गरिने भएको छ।
३४औँ प्रकाश स्मृति दिवसका अवसरमा साउन २५ गते आयोजित समारोहमा पासवानलाई ११ हजार ५ सय रुपैयाँ नगद, सम्मानपत्र र दोसल्लासहित सम्मान गरिने पुरस्कार कोषका सचिव मनोहरकुमार पोखरेलले जानकारी दिए।
समारोहमा मधेश प्रदेशसभाका सभामुख रामआशिष यादव प्रमुख अतिथि तथा उच्च अदालत जनकपुर–राजविराज इजलासका मुख्य न्यायाधीश सुभाष पौडेल विशिष्ट अतिथिका रूपमा सहभागी हुने पोखरेलले बताए।
पासवान विगत साढे दुई दशकदेखि मानव अधिकार, सामाजिक न्याय तथा समुदाय सशक्तीकरणका क्षेत्रमा सक्रिय छन्। विभेद र हिंसाबाट प्रभावित समुदायको अधिकार संरक्षण, पीडितको उद्धार तथा पुनःस्थापना, कानुनी पैरवी र सामाजिक न्यायको प्रवर्द्धनमा उनले पुर्याएको योगदानको कदरस्वरूप पुरस्कार प्रदान गर्न लागिएको जनाइएको छ।
यस पुरस्कारमार्फत मानव अधिकार र सामाजिक न्यायका क्षेत्रमा निरन्तर क्रियाशील व्यक्तिको योगदानलाई सम्मान गर्नुका साथै समाजमा न्याय, समानता र मानव अधिकारको पक्षमा काम गर्नेहरूलाई प्रोत्साहित गर्ने उद्देश्य रहेको जनाइएको छ।



