जनकपुरधाम, २३ साउन । सामाजिक तथा धार्मिक क्षेत्रमा योगदान पुर्याउँदै आएको जनकपुरधामको गणेश युवा कमिटीको २०औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।
कमिटीका अध्यक्ष सन्तोषकुमार महतोको अध्यक्षतामा आयोजित सभामा कमिटीका पूर्वअध्यक्ष एवं जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्रकुमार भण्डारीले कमिटीले सामाजिक तथा धार्मिक क्षेत्रमा पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिन सुझाव दिए।
नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष पुरण साहले पछिल्लो समय युवाको सामाजिक परिवर्तनप्रतिको समर्पणमा कमी आउन थालेको भन्दै चिन्ता व्यक्त गरे। उनले युवाको सक्रियता र सामाजिक तथा धार्मिक क्षेत्रमा उनीहरूले पुर्याउने योगदानले सामाजिक विकाससँगै संस्थाको पहिचानसमेत स्थापित हुने बताए।
मिडिया काउन्सिलका पूर्वअध्यक्ष कैलास दासले साधारण सभा विगतका कामको समीक्षा गर्दै आगामी कार्यदिशा तय गर्ने महत्वपूर्ण अवसर भएको बताए। उनले विगतका कमीकमजोरीलाई सच्याउँदै नयाँ योजनाका साथ अघि बढ्न आग्रह गरे।
जनकपुरधाम धार्मिक तथा सांस्कृतिक नगरीका साथै मधेश प्रदेशको राजधानीसमेत रहेकाले सामाजिक, आर्थिक तथा सांस्कृतिक विकासमा युवाको भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियो। उनले कमिटीले सामाजिक तथा धार्मिक क्षेत्रमा पुर्याउँदै आएको योगदानलाई आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरे।
सभामा कमिटीका अध्यक्ष महतोले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रतिवेदनमाथि सहभागीहरूले व्यापक छलफल गरेका थिए।
वार्षिक साधारण सभाले निर्वाचन समिति गठन गरी दुई साताभित्र नयाँ कार्यसमितिको निर्वाचन गर्ने निर्णयसमेत गरेको छ।



