जनकपुरधाम, २६ साउन । भाषा, साहित्य र संस्कृतिका विशिष्ट साधक डा. राजेन्द्र विमललाई तीनै तहका सरकारका प्रतिनिधिसहित साहित्यिक तथा सामाजिक क्षेत्रका व्यक्तित्वहरूले अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन्।
विमलको अन्त्येष्टिमा संघीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल, मधेश प्रदेशका सभामुख रामअशिष यादव, शिक्षा तथा संस्कृति मन्त्री मनोज सिंह तथा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह सहभागी भए।
उनीहरू विमलको शवयात्रामा सहभागी हुँदै जनकचोकसम्म पुगेका थिए। जनकचोकमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, जनप्रतिनिधि, साहित्यकार, प्राध्यापक, शुभेच्छुक तथा सर्वसाधारणले उनलाई अन्तिम श्रद्धाञ्जली अर्पण गरे।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा धनुषा निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य मनिष झा, सभामुख यादव, संघीय मन्त्री पौडेल र जनकपुरधामका प्रमुख साहले विमलको निधनप्रति दुःख व्यक्त गर्दै उनको साहित्यिक तथा बौद्धिक योगदानको स्मरण गरे।
श्रद्धाञ्जलीपछि उनको पार्थिव शरीरलाई अन्तिम संस्कारका लागि स्वर्गद्वारी लगिएको थियो। शवयात्रामा सहभागी ठूलो संख्याका साहित्यकार, शुभेच्छुक, आफन्त तथा सर्वसाधारणले भावुक हुँदै उनलाई अन्तिम बिदाइ गरे।
मैथिली, नेपाली, अंग्रेजी तथा हिन्दी भाषाका विद्वान् विमलको सोमबार राति करिब १२ बजे जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा निधन भएको थियो। केही वर्षदेखि हृदयसम्बन्धी समस्याबाट पीडित उनलाई पछिल्लो समय श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको निधन भएको परिवारजनले जनाएका छन्।
जनकपुर र मिथिलाको सामाजिक, सांस्कृतिक तथा साहित्यिक जीवनलाई नेपाली साहित्यको मूल प्रवाहसँग जोड्न महत्वपूर्ण भूमिका खेलेका विमलको निधनले साहित्यिक तथा बौद्धिक क्षेत्रमा अपूरणीय क्षति पुगेको श्रद्धाञ्जलीमा सहभागीहरूले बताएका छन्।



