जनकपुरधाम, २९ साउन । भारतबाट विगत एकवर्षको अवधिमा ४६ करोडभन्दा बढीको चामल आयात भएर नेपाल भित्रिएको छ । आर्थिक वर्ष २०८२÷०८३ मा भिठामोड नाका हुँदै ४६ करोड ७२ लाख ५३ हजार ८५६ रुपैया मूल्य बराबरको ७० लाख ७० हजार ५०९ केजी चामल नेपाल भित्रिएको क्वारेन्टायन कार्यालय जलेश्वरले जनाएको छ ।
सो अवधिमा ७ करोड २६ लाख ६ हजार ४ सय रुपैया मूल्य बराबरको ९ लाख २१ हजार ३३० केजी बासमती चामल नेपाल भित्रिएको छ । यसैगरी किनमेल गर्न सीमावर्ती भारतीय बजार जाने नेपाली उपभोक्ताहरु आफ्नो घर खर्चको लागि बोराको बोरा चामल ल्याउने गरेका छन् । जसको लेखाजोखा पनि छैन । यसकारण भन्सार विन्दुबाट चामल आयात बिक्री दर भने घटेको छ । कर्मचारीहरु भन्छन् भन्सार घोषणा नगरी चोरी आयात पनि त्यतिकै मात्रामा बढेको छ । भन्सार विन्दुमा घोषणा गरेको भन्दा बजार मूल्य निकै बढेको छ ।
कृषि सुधार शुल्क तिर्नुपर्ने भएकोले भन्सारमा सकेसम्म थोरै रकम मात्र घोषणा गर्ने परिपार्टी पनि व्यापारहरुमा बढेको छ । चामलसँगै अन्य खद्यान्न वस्तुका आयात पनि निकै रहेको छ । धान, गहुँ, मकै, जौ लगायतका वस्तुहरु पनि आएको देखिन्छ । जसअन्तरगत सोही आर्थिक वर्षमा भारतबाट भिठामोड नाका भएर ८५ करोड ६७ लाख ८२ हजार ८५५ रुपैया मूल्य बराबरको २ करोड ६७ लाख ७३ हजार ८५५ केजी धान नेपाल भित्रिएको क्वारेन्टाइन प्रमुख किशोर कुमार यादवले बताए ।
यसैगरी १५ करोड २० लाख ९६ हजार मूल्य बराबरको ४७ लाख ५३ हजार केजी गहुँ, १ करोड ८५ लाख २८ हजार ६०८ रुपैया मूल्य बराबरको ५ लाख ७९ हजार १९ केजी मकै, ६ लाख ५९ हजार मूल्य बराबरको २० हजार ५ सय केजी जै र १२ हजार मूल्यबराबरको ५ सय केजी बाग्रा नेपाल भित्रिएको छ ।
यसरी हेर्ने हो भने भारतबाट भिठामोड नाका भएर १ अर्ब, ४९ करोड ५३ लाख ९ हजार ८२४ रुपैया मूल्य बराबरको ३ करोड ९१ लाख ९७ हजार ३८३ केजी विभिन्न प्रकारका खद्यान्नहरु नेपाल भित्रिएको
छ । तराईको जिल्लाहरुमा विभिन्न कारणले धान उत्पादनमा ह्रास आउन थालेपछि उपभोक्ताहरु भारतीय बजारमा निर्भर हुँदै गएका छ । यहाँको उत्पादनले वर्षभरि खाना नपुग्ने भएपछि भारतीय खद्यान्नमा निर्भ हुन थालेकोले नेपाली मुद्रा भारततर्फ जाने गरेको छ ।



