जनकपुरधाम, २५ भदौ । मधेश प्रदेशको दलित विकास समितिले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा उपचारका लागि पुगेकी दलित समुदायकी महिलाले अस्पतालबाहिरै बच्चा जन्माउनुपरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
समितिका उपाध्यक्ष जितेन्द्र पासमानले आर्थिक अभाव तथा दलित समुदायको सदस्य भएकै कारण महिलाले उपचार नपाएको पीडित परिवारबाट गुनासो आएको भन्दै घटनाको सत्यतथ्य तत्काल सार्वजनिक गर्न माग गरेका छन् ।
समाचार दैनिकसँग फोनमा कुरा गर्दै पासमानले स्वास्थ्य सेवासहित राज्यका सबै निकायमा नागरिकको समान पहुँच र सम्मान सुनिश्चित हुनुपर्ने बताए । अस्पताल परिसरबाहिरै प्रसूति हुनुपर्ने अवस्था सिर्जना हुनु स्वास्थ्य सेवा र अस्पताल व्यवस्थापनमाथि गम्भीर प्रश्न भएको उनको भनाइ छ ।
राजविराज नगरपालिका–१४ पर्साहीकी बबिताकुमारी पासवान बुधबार बिहान करिब २ बजे प्रसवको सुरुवाती अवस्थामा अस्पताल पुगेकी थिइन् । सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्वीर तथा भिडियोमा उनले अस्पताल परिसरबाहिरै प्रसूति गरेको देखिएपछि घटनाको कारणबारे प्रश्न उठेको छ ।
उपाध्यक्ष पासमानले घटनाको तत्काल र निष्पक्ष छानबिन गर्न विशेष छानबिन समिति गठन गरी सत्यतथ्य सार्वजनिक गर्न संघीय तथा मधेश प्रदेश सरकारसँग माग गरेका छन् । छानबिनका क्रममा अस्पतालका कर्मचारी वा अन्य जिम्मेवार व्यक्ति दोषी देखिए कानुनअनुसार कारबाही गर्नुपर्ने उनको माग छ ।
“स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा दलित वा आर्थिक रूपमा कमजोर भएकै कारण कुनै महिलाले अस्पतालबाहिर बच्चा जन्माउनुपर्ने अवस्था आउनु अत्यन्तै दुःखद् र गम्भीर विषय हो,” उनले भने ।
पासमानले दलित समुदायप्रति हुने कुनै पनि प्रकारको विभेद आगामी दिनमा दोहोरिन नहुने भन्दै यस्ता घटना पुनः दोहोरिए कानुनी उपचारको बाटोमा जाने चेतावनीसमेत दिए ।
यता, अस्पतालले भने महिलालाई प्रारम्भिक स्वास्थ्य परीक्षणपछि प्रसूति वार्डको बेड नम्बर २४ मा भर्ना गरिएको जनाएको छ । आवश्यक स्वास्थ्य परीक्षणका रिपोर्ट नभएकाले चिकित्सकले थप आवश्यक जाँच गराउन सुझाव दिएको अस्पतालको भनाइ छ ।
अस्पतालका अनुसार त्यसपछि महिला अस्पतालले उपलब्ध गराएको शैयामा नरही बाहिरिएको र बिहान करिब ४ः४५ बजे अस्पतालको मूल गेटबाहिर प्रसूति भएको जानकारी प्राप्त भएको थियो । अस्पतालले घटनाबारे आन्तरिक छानबिन अघि बढाउने जनाइसकेको छ ।



