जनकपुरधाम, ३० भदौ । आर्थिक वर्ष २०८२÷०८३ मा महोत्तरीको भिठामोड नाका हुँदै भारतबाट ७ अर्ब ७४ करोड ७ लाख २२ हजार रुपैयाँ मूल्य बराबरका खाद्यान्न, दलहन, तेलहन, तरकारी, फलफूल तथा प्रशोधित कृषिजन्य र खाद्य पदार्थ नेपाल भित्रिएका छन् ।
क्वारेन्टाइन कार्यालय, जलेश्वरका अनुसार स्वदेशमै उत्पादन गर्न सकिने कृषि उपजसमेत ठूलो परिमाणमा भारतबाट आयात हुन थालेपछि नेपालको कृषि क्षेत्रमा परनिर्भरता बढ्दै गएको देखिएको छ । कार्यालयका निमित्त प्रमुख किशोरकुमार यादवका अनुसार उक्त अवधिमा २२ करोड ९८ लाख ३७ हजार ५८९ किलोग्राम विभिन्न कृषिजन्य तथा खाद्य वस्तु आयात भएको छ ।
प्राप्त तथ्यांकअनुसार गत आर्थिक वर्षमा खाद्यान्नतर्फ मात्रै ४६ करोड ७२ लाख ५३ हजार ८५६ रुपैयाँ मूल्य बराबरको ७० लाख ७० हजार ५०९ किलोग्राम भारतीय चामल आयात भएको छ ।
यसैगरी, १ अर्ब ४९ करोड ५३ लाख ९ हजार ८२४ रुपैयाँ मूल्य बराबरको ३ करोड ९१ लाख ५७ हजार ३८३ किलोग्राम अन्य खाद्यान्न आयात भएको कार्यालयले जनाएको छ । त्यस्तै, ३० करोड ६० लाख ४८ हजार २१० रुपैयाँ मूल्य बराबरको ३० लाख ५२ हजार ८० किलोग्राम विभिन्न प्रकारका दलहन र ५० लाख ७० हजार रुपैयाँ मूल्य बराबरको ६५ हजार किलोग्राम तेलहन आयात भएको छ ।
भारतबाट भिठामोड नाका हुँदै ६९ करोड ९९ लाख ६१ हजार रुपैयाँ मूल्य बराबरको ९७ लाख २४ हजार ८८२ किलोग्राम ताजा फलफूलसमेत नेपाल भित्रिएको छ । त्यस्तै, १ अर्ब ३६ करोड ५८ लाख ३५ हजार २०० रुपैयाँ मूल्य बराबरको ४ करोड ८९ लाख ९१ हजार ६६० किलोग्राम हरियो तरकारी आयात भएको तथ्यांकमा उल्लेख छ ।
कृषिजन्य वस्तुको आयातमा ठूलो रकम बाहिरिँदा स्वदेशी उत्पादन कमजोर हुनुका साथै कृषि क्षेत्रमा परनिर्भरता बढ्ने किसानहरूको चिन्ता छ । नेपालमै उत्पादनको सम्भावना रहेका कृषि उपजसमेत भारतबाट आयात गर्नुपर्ने अवस्थाले कृषि उत्पादन र बजार व्यवस्थापनमा सरकारको ध्यान पुग्न नसकेको उनीहरूको गुनासो छ ।
किसानहरूले संघीय, प्रदेश र स्थानीय सरकारले कृषि उत्पादन वृद्धि, उत्पादन लागत घटाउने, सिँचाइ तथा कृषि सामग्रीको सहज उपलब्धता र उत्पादित वस्तुको बजार सुनिश्चित गर्न विशेष प्राथमिकता दिनुपर्ने बताएका छन् । स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्दै कृषि उपजको बजारीकरण व्यवस्थित गर्न सके आयात प्रतिस्थापनसँगै ठूलो रकम विदेशिनबाट रोक्न सकिने उनीहरूको भनाइ छ ।



