जनकपुरधाम, १३ असोज । धनुषाको शहीदनगर नगरपालिका–५ पछहर्वामा सार्वजनिक शिक्षा, जलवायु परिवर्तन तथा विपद् जोखिम न्यूनीकरणसम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।
सार्वजनिक शिक्षाको गुणस्तर सुधार तथा जलवायु परिवर्तनका कारण बढ्दै गएका प्राकृतिक प्रकोप र विपद्का घटनाको न्यूनीकरणका लागि प्रदेश तथा स्थानीय सरकारले गरिरहेका कामबारे नागरिकको धारणा र प्रश्न संकलन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा मधेश प्रदेश सभाका सभामुख रामअशिष यादव, महिला, बालबालिका तथा न्याय समितिकी सभापति रुपा यादव, प्रदेश मामिला समितिका सभापति रत्नेश्वर गोइत, शहीदनगर नगरपालिकाकी उपप्रमुख सुनिता सिंह र वडा नं. ५ का वडाध्यक्ष सुरेश कापडसहित जनप्रतिनिधि तथा सरोकारवालाको सहभागिता थियो । नागरिक समाजका अगुवा, सर्वसाधारण, युवा, विद्यार्थी तथा महिलाले शिक्षा, वातावरण, विकास र विपद् व्यवस्थापनसम्बन्धी सवाल राखेका थिए ।
मधेश प्रदेशमा सार्वजनिक शिक्षाको अवस्था अपेक्षाअनुसार सुधार हुन नसकेको, जलवायु परिवर्तनका कारण प्राकृतिक प्रकोपका घटना बढ्दै गएको र यस्तो अवस्थामा प्रदेश तथा स्थानीय सरकारको भूमिका प्रभावकारी हुन नसकेको भन्दै सहभागीले प्रश्न गरेका थिए ।
सहभागी रामदयाल मण्डलले संघीयतापछि भौतिक पूर्वाधार निर्माणमा केही प्रगति भए पनि सार्वजनिक शिक्षाको गुणस्तर सुधार हुन नसकेको बताए । विद्यालयमा कहिले शिक्षक अभाव हुने र कहिले विषयगत शिक्षक नहुँदा शिक्षाको गुणस्तर प्रभावित भइरहेको उनको भनाइ थियो ।
‘शिक्षाको अवस्था राम्रो छैन । भौतिक निर्माणको काम भए पनि कहिले शिक्षकको अभाव हुन्छ भने कहिले सम्बन्धित विषयको शिक्षक हुँदैन,’ उनले भने, ‘यस्तो अवस्थामा सार्वजनिक शिक्षालाई कसरी गुणस्तरीय बनाउन सकिन्छ ?’
सहभागी जयकुमार साहले विकास निर्माणमा हुने अनियमितता र कमिसनमुखी प्रवृत्तिले जनप्रतिनिधिको प्राथमिकतामाथि प्रश्न उठाएको आरोप लगाए। प्रदेश सरकारले गरेका कामको नागरिकले पर्याप्त अनुभूति गर्न नसकेको तथा स्थानीय तहका काममा समेत विभेद देखिएको उनको गुनासो थियो। शिक्षा र वातावरणका क्षेत्रमा पनि अपेक्षित काम हुन नसकेको उनले बताए।
कार्यक्रममा सहभागीहरूले जलवायु परिवर्तनलाई विकासको मूल मुद्दासँग जोडेर हेर्नुपर्ने, विपद् आउनुअघि नै जोखिम न्यूनीकरणका उपाय अपनाउनुपर्ने र स्थानीय तहमा विपद् पूर्वतयारी तथा प्रतिकार्य क्षमता बढाउनुपर्नेमा जोड दिएका थिए।

पिपल प्रमोट सेन्टरका अध्यक्ष कमलेश मण्डलले कार्यक्रमको उद्देश्य र विषयवस्तुबारे जानकारी दिएका थिए। कार्यक्रमको संयोजन मिडिया काउन्सिल मधेश प्रदेशका पूर्वअध्यक्ष कैलास दासले गरेका थिए।
कार्यक्रममा घुरण मण्डल, छेदी पासमान, मञ्जु देवी महरा, सपना मण्डल, रामदयाल माझी, मथुरा मण्डल, श्रीदेव कापड, रामलखन पासमान, सन्तोषकुमार माझी, श्रीराम मण्डल र विकास मुखियालगायतले शिक्षा, जलवायु परिवर्तन, वातावरण, विपद् जोखिम न्यूनीकरण तथा विकाससम्बन्धी प्रश्न राखेका थिए।
त्यस्तै, जलवायु परिवर्तनसम्बन्धी जानकार प्रेमकान्त झाले जलवायु परिवर्तनले मधेशमा पारिरहेको प्रभाव तथा त्यसबाट उत्पन्न जोखिमबारे धारणा राखेका थिए।युएनडिपी संसद सहयोग परियोजनाका संसदीय मामिला अधिकारी डा. विटुबाबु श्रीवास्तवले मधेशको सार्वजनिक शिक्षाको अवस्था र जलवायु परिवर्तनसँग जोडिएका सवालबारे आफ्ना विचार व्यक्त गरेका थिए।
मधेश प्रदेश सभा अन्तर्गतका महिला, बालबालिका तथा न्याय समिति र प्रदेश मामिला समितिको आयोजना, पिपल प्रमोटको समन्वय तथा संयुक्त राष्ट्र विकास कार्यक्रमको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो।



