जनकपुरधाम २१ असोज । भारतीय चलचित्रका चर्चित अभिनेता नाना पाटेकरको बिहीबार बिहान गोवास्थित आफ्नै निवासमा निधन भएको छ। बिहान ५ः२० बजे डोना पाउला क्षेत्रमा रहेको घरमा उनको निधन भएको हो। उनी ७५ वर्षका थिए।
पाटेकर आफ्नो स्पष्टवादिता, निर्भीक स्वभाव र प्रभावशाली अभिनयका कारण भारतीय चलचित्र क्षेत्रमा विशिष्ट पहिचान बनाउन सफल थिए। मराठी तथा हिन्दी चलचित्रमा नायक, सहनायक, खलनायक र चरित्र अभिनेताका रूपमा उनले विविध भूमिका निर्वाह गरेका थिए।
आफ्नो मृत्युबारे समेत उनी असाध्यै स्पष्ट ढंगले कुरा गर्थे। वरिष्ठ पत्रकार निखिल वाग्लेसँगको अन्तर्वार्तामा उनले आफूले खेतमा काठ उब्जाउने गरेको र ती काठले आफूलाई जलाउने मानिस को आफ्ना हुन् र को पराया भन्ने थाहा पाउने प्रसंग सुनाएका थिए। उनको यो अभिव्यक्तिले जीवनप्रतिको उनको व्यंग्यात्मक र निर्भीक दृष्टिकोण झल्काउँछ।
गरिबीबाट अभिनयको शिखरसम्म
नाना पाटेकरको बाल्यकाल आर्थिक अभावमा बितेको थियो। उनका पिता गजानन पाटेकर मुम्बईमा कपडाको व्यापार गर्थे। व्यापारमा धोका भएपछि परिवारले आर्थिक संकट बेहोर्नुपरेको थियो। परिवारको गुजारा चलाउन पाटेकरका पिताले चित्रकारको कामसमेत गर्नुपरेको थियो।
पाटेकरले १३ वर्षकै उमेरमा काम गर्न थालेका थिए। उनले चलचित्रका पोस्टर बनाउने काम पनि गरे। विद्यालय पढ्दै गर्दा घरबाट करिब आठ किलोमिटर पैदल हिँडेर काममा जाने र राति त्यति नै दूरी हिँडेर फर्किने उनको दैनिकी थियो।
बाल्यकालमा उनको सपना सेनामा जाने थियो। परिवारले अनुमति नदिएपछि त्यो सपना पूरा हुन सकेन। पछि यही सैनिक जीवनप्रतिको आकर्षण ‘प्रहार’ चलचित्रमार्फत पर्दामा देखियो। उक्त चलचित्रबाट उनले निर्देशकका रूपमा समेत आफ्नो क्षमता प्रस्तुत गरे।
पाटेकरले वरिष्ठ रंगकर्मी तथा निर्देशक विजया मेहतालाई आफ्नो गुरु मान्थे। अरविन्द देशपाण्डे र सुलभा देशपाण्डेजस्ता रंगकर्मीले पनि उनको अभिनय यात्रा निर्माणमा महत्वपूर्ण भूमिका खेले। उनी स्वयं भन्थे, ‘यदि यी मानिसहरू मेरो जीवनमा नआएका भए सायद म अपराधको संसारमा पुगेको हुन्थेँ।’
नाटकबाट चलचित्रसम्मको यात्रा
नाना पाटेकरको रंगमञ्च प्रवेश पनि संयोगपूर्ण थियो। उनी ‘चांगुणा’ नाटकको अभ्यास हेर्न पुगेका थिए। अभ्यासका क्रममा उनी आफ्नै शैलीमा रमाइलो गरिरहन्थे। त्यस क्रममा सुलभा देशपाण्डेले उनलाई अर्को नाटकमा भूमिका दिन आग्रह गरेपछि उनको रंगमञ्चीय यात्रा सुरु भयो।
त्यतिबेला उनी जागिर गर्थे। जागिर र नाटकबीच छनोट गर्नुपर्ने अवस्थामा पनि उनलाई विश्वास गरेर भूमिका दिइयो। त्यसपछि उनले ‘पुरुष’ लगायतका नाटकमा लामो समय अभिनय गरे।
त्यतिबेला एउटा प्रदर्शनको ५० रुपियाँ पारिश्रमिक पाउने पाटेकरलाई अभिनेता अशोक सराफले आर्थिक रूपमा धेरै सहयोग गरेका थिए। सराफले तास खेल्दा जानाजानी हारिदिने र आवश्यक पर्दा आर्थिक सहयोग गर्ने गरेको पाटेकरले स्मरण गरेका थिए।
पाटेकर र सराफबीचको आत्मीयता एउटा अर्को घटनाले पनि देखाउँछ। ‘हमीदाबाईकी कोठी’ नाटक प्रदर्शनका क्रममा दर्शकको आक्रोश बढेपछि पाटेकरले सराफलाई पछाडिको बाटोबाट सुरक्षित बाहिर निकालेका थिए। बाहिर कुनै सवारीसाधन नभएपछि पाटेकर आफैँले रिक्सा तानेर सराफलाई सुरक्षित स्थानसम्म पुर्याएका थिए।

चलचित्रमा विशिष्ट पहिचान
नाना पाटेकरले सन् १९७८ मा प्रदर्शन भएको ‘गमन’ चलचित्रबाट फिल्मी यात्रा सुरु गरेका थिए। प्रारम्भिक भूमिका सानो भए पनि त्यसपछि ‘परिन्दा’, ‘क्रान्तिवीर’, ‘प्रहार’, ‘खामोशी’, ‘अग्निसाक्षी’, ‘नटसम्राट’, ‘वेलकम’ लगायतका चलचित्रमा उनले प्रभावशाली अभिनय गरे।
‘परिन्दा’, ‘अंगार’, ‘क्रान्तिवीर’ र ‘अपहरण’ लगायतका चलचित्रबाट उनले विभिन्न पुरस्कार प्राप्त गरेका थिए। विशेषतः अन्यायविरुद्ध आक्रोश व्यक्त गर्ने सामान्य मानिसको चरित्रलाई उनले आफ्नै शैलीमा पर्दामा प्रस्तुत गरे।
‘नटसम्राट’मा उनको अभिनयलाई विशेष रूपमा प्रशंसा गरिएको थियो। त्यस्तै ‘प्रकाश बाबा आमटे’मा उनको अभिनयले पनि दर्शक तथा समीक्षकबाट प्रशंसा पाएको थियो। ‘वेलकम’मा उनले निर्वाह गरेको भूमिकाले लोकप्रिय संस्कृति र सामाजिक सञ्जालमा समेत व्यापक चर्चा पायो।
विवाद र सामाजिक सेवा
पाटेकरको जीवन विवादरहित भने थिएन। अभिनेत्री तनुश्री दत्ताले सन् २००८ मा चलचित्रको छायांकनका क्रममा उनीमाथि दुर्व्यवहारको आरोप लगाएकी थिइन्। भारतमा ‘मीटू’ अभियान चलेपछि सन् २०१८ मा उक्त विषय पुनः चर्चामा आएको थियो। पाटेकरले आरोप अस्वीकार गर्दै आएका थिए। सन् २०१९ मा पर्याप्त प्रमाण नभएको भन्दै प्रहरीले उनलाई आरोपबाट उन्मुक्ति दिएको थियो।
पाटेकर सामाजिक सेवामा पनि सक्रिय थिए। सन् २०१५ मा महाराष्ट्रमा परेको भीषण खडेरी र किसानको समस्यालाई सम्बोधन गर्ने उद्देश्यले उनले अभिनेता मकरन्द अनासपुरेसँग मिलेर ‘नाम फाउन्डेसन’ स्थापना गरेका थिए। संस्थामार्फत किसान तथा ग्रामीण क्षेत्रमा सहयोगका विभिन्न काम गरिएका थिए।

सबैसँग आफ्नै सम्बन्ध
पाटेकर विभिन्न राजनीतिक विचारधारा र क्षेत्रका व्यक्तिसँग निकट सम्बन्ध राख्थे। सामाजिक तथा राजनीतिक रूपमा फरक धारका व्यक्तिसँग पनि सम्बन्ध कसरी सम्भव भयो भन्ने प्रश्नमा उनले आफूलाई स्वतन्त्र चराको संज्ञा दिएका थिए।
उनको भनाइ थियो, आफूलाई मन परेको व्यक्ति वा विचार मन पराउने र आफू कहाँ बस्ने भन्ने निर्णय आफैँ गर्ने। उनले सबै मानिसमा केही न केही राम्रो पक्ष हुने धारणा पनि व्यक्त गरेका थिए।
धर्म र आस्थाका विषयमा पनि उनको दृष्टिकोण आफ्नै किसिमको थियो। उनी आफूले कुरानका आयत उच्चारण गर्न सक्ने, घाँटीमा ताबीज लगाउने र कृष्णप्रति पनि आस्था रहेको बताउँथे। मन्दिर जानुभन्दा आफ्नो ठाउँबाटै भगवानलाई सम्झन सकिने उनको धारणा थियो।

गरिबी, संघर्ष, रंगमञ्च, चलचित्र, विवाद, सामाजिक सेवा र स्पष्ट अभिव्यक्तिले बनेको नाना पाटेकरको जीवनयात्रा भारतीय अभिनय क्षेत्रको एउटा अलग अध्याय बनेको छ। पर्दामा जस्तै निजी जीवनमा पनि आफ्ना विचार निर्भीक रूपमा व्यक्त गर्ने उनको शैलीले उनलाई अरू कलाकारभन्दा फरक पहिचान दिएको थियो। साभारः बिबीसी/हिन्दी



