जनकपुरधाम, २२ असोज । नेपाल पत्रकार महासंघ धनुषा शाखाको १४औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै मधेश प्रदेश सभाका सभामुख रामअशिष यादवले संघीयता संस्थागत भइसकेको अवस्थामा सञ्चारमाध्यम भने थप सबल हुनुपर्नेमा कमजोर बन्दै जानु चिन्ताजनक भएको बताउनुभएको छ ।
शाखाका अध्यक्ष पुरण साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सभामुख यादवले संघीयता स्थापनादेखि त्यसको संस्थागत विकाससम्म सञ्चारकर्मी र सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै राज्यले सञ्चार क्षेत्रको विकास र संरक्षणमा अपेक्षित ध्यान दिन नसकेको बताउनुभयो ।
“संघीयता ल्याउन र त्यसलाई संस्थागत गर्न सञ्चारकर्मी र सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका छ । तर राज्यको सञ्चारमाध्यमप्रतिको दृष्टिकोण सन्तोषजनक देखिएको छैन,” उहाँले भन्नुभयो, “सञ्चारमाध्यम सबल भए संघीयता सबल हुन्छ र संघीयता सबल भए मात्रै समृद्ध समाज निर्माण गर्न सकिन्छ ।”
सभामुख यादवले संघीयतालाई बलियो बनाउन सञ्चारमाध्यमले आफ्नो भूमिका अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो। संघीयताप्रति विगतदेखि नै विभिन्न चुनौती देखिँदै आएको उल्लेख गर्दै उहाँले यसको संरक्षण र सुदृढीकरणका लागि सञ्चार क्षेत्रले निरन्तर खबरदारी गर्नुपर्ने बताउनुभयो।
कार्यक्रमकी विशिष्ट अतिथि नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले सरकारले लोककल्याणकारी विज्ञापन बन्द गरेपछि सञ्चारमाध्यम थप आर्थिक संकटमा परेको बताउनुभयो। उहाँले लोककल्याणकारी विज्ञापनसम्बन्धी कार्यविधि फिर्ता लिएर विज्ञापन वितरणको व्यवस्था पुनः सञ्चालन नगरेसम्म महासंघको आन्दोलन जारी रहने स्पष्ट पार्नुभयो।
“सरकारले बन्द गरेको लोककल्याणकारी विज्ञापनसम्बन्धी आन्दोलन समाप्त भएको छैन। सरकारले सम्बन्धित कार्यविधि फिर्ता नलिएसम्म हाम्रो आन्दोलन जारी रहनेछ,” अध्यक्ष शर्माले भन्नुभयो।
उहाँले सञ्चार क्षेत्रको लगानी र गुणस्तर अभिवृद्धिका लागि सरकारले स्पष्ट नीति तथा कार्यक्रम ल्याउनुपर्ने मागसमेत राख्नुभयो। महासंघको केन्द्रीय समितिको बैठकबाट सञ्चार क्षेत्रसँग सम्बन्धित विषयमा थप ठोस निर्णय गरिने उहाँले जानकारी दिनुभयो।
साधारण सभामा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राजेश कर्ण, मधेश प्रदेश अध्यक्ष श्यामप्रसाद बन्जारा, लेखा समिति संयोजक केसी लामिछाने, मिडिया काउन्सिल, आमसञ्चार प्राधिकरण तथा विभिन्न सञ्चारसम्बद्ध संघसंस्थाका पदाधिकारीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
सो अवसरमा पत्रकारिता तथा विभिन्न क्षेत्रमा योगदान पु¥याएका चार जनालाई पुरस्कृत तथा सम्मानित गरिएको थियो। साधारण सभामा शाखाको सांगठनिक तथा आर्थिक गतिविधिसहित आगामी कार्ययोजनामाथि समेत छलफल गरिएको जनाइएको छ।



