जनकपुरधाम, २३ असोज । मधेश प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री फकिरा महतोले जलवायु परिवर्तनका असर सबै मानिसमा पर्ने भए पनि अपाङ्गता भएका व्यक्तिहरू यसको प्रभावबाट बढी पीडित हुने गरेको बताएका छन् । उनले जलवायु परिवर्तनका कारण उत्पन्न समस्याबाट अपाङ्गता भएका व्यक्तिलाई जोगाउन राज्यले पर्याप्त ध्यान दिन नसकेको स्वीकार गरे ।
राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेश कार्यालय लगायतका संस्थाहरुद्वारा आयोजित ‘नेपालमा जलवायु परिवर्तनले अपाङ्गता भएका व्यक्तिहरूको अधिकारमा पारेको प्रभाव’ विषयमा आयोजित प्रादेशिक परामर्श गोष्ठीमा बोल्दै मन्त्री महतोले पानीका स्रोत सुक्दै जानु, बाढीपहिरोको जोखिम बढ्नु र स्वच्छ खानेपानीको अभावजस्ता समस्या सबैले भोग्नुपरेको उल्लेख गरे । तर, यस्ता समस्याले अपाङ्गता भएका व्यक्तिहरूलाई कति कठिन अवस्थामा पु¥याउँछन् भन्ने विषयमा राज्य र समाजले गम्भीर भएर सोच्नुपर्ने उनको भनाइ थियो ।
उनले विशेषगरी सुन्न नसक्ने तथा अन्य प्रकारका अपाङ्गता भएका व्यक्तिहरूले विपद्का बेला सूचना प्राप्त गर्न, सुरक्षित स्थानमा जान र आवश्यक सहायता लिन थप कठिनाइ भोग्नुपर्ने बताए । जलवायु परिवर्तनबाट सिर्जित जोखिम न्यूनीकरण तथा प्रभावित व्यक्तिको अधिकार संरक्षणका लागि सम्बन्धित निकायले संवेदनशील भएर काम गर्नुपर्नेमा उनले जोड दिए ।
जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि बनाइने नीति तथा कार्यक्रममा अपाङ्गता भएका व्यक्तिका आवश्यकता समेटिनुपर्ने आवश्यकता औँल्याउँदै उनले विपद् व्यवस्थापन, पूर्वसूचना प्रणाली, उद्धार तथा राहत वितरणलाई अपाङ्गतामैत्री बनाउनुपर्ने बताए ।

गोष्ठीमा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जलवायु परिवर्तनका असरबाट जोखिममा रहेका समुदायको अधिकार संरक्षण, विपद् व्यवस्थापनमा समावेशिता तथा सरकारी नीति र कार्यक्रमको प्रभावकारी कार्यान्वयनका विषयमा ध्यान दिनुपर्ने आवश्यकतामाथि छलफल गरेका थिए ।
जलवायु परिवर्तनको असर प्राकृतिक वातावरणमा मात्र सीमित नभई मानव अधिकार, स्वास्थ्य, शिक्षा, जीविकोपार्जन र सुरक्षित जीवनयापनसँग समेत जोडिएको विषय भएकाले अपाङ्गता भएका व्यक्तिका सवाललाई विकास योजना तथा बजेटमा प्राथमिकताका साथ समेट्नुपर्नेमा गोष्ठीले जोड दिएको थियो ।
राष्ट्रिय मानव अधिकार आयोगको मधेश प्रदेश कार्यालयका संयोजक बुद्धनारायण सहनीको अध्यक्षतामा सम्पन्न गोष्ठीमा दलित विकास समितिका उपाध्यक्ष जितेन्द्र पासमानले जलवायु परिवर्तनको असर विशेष गरी दलित र अपांग समुदायमाथि बढी पर्ने गरेको औल्याएका छन् ।
कार्यक्रममा वातावरणविज्ञ प्रा. डा. विनोद द्विवालीले डिजिटल माध्यमबाट प्रस्तुति दिएका थिए ।



