जनकपुरधाम, ३१ भदौ । राष्ट्रिय मुक्ति पार्टी नेपालका सचिव संजय चौधरीले “राजनीति सेवा हो” भन्ने आदर्श आज विगतको कुरा मात्र बनेको टिप्पणी गरेका छन् । उनका अनुसार नेपालमा धेरैजसो नेताहरूले राजनीतिलाई व्यवसाय वा करिअरको रूपमा लिएकाले, उनीहरूको जीवनशैली नै अब सामाजिक थर्मामीटर बनेर परीक्षण हुनुपर्ने आवश्यकता बढ्दो छ ।
फेसबुकमा लेख्दै चौधरीले भनेका छन— “विश्लेषकहरूको भनाइमा राजनीति मूलतः निःस्वार्थ सेवा हो, तर आज धेरै नेताहरूले यसलाई प्रमुख आयस्रोत बनाइसकेका छन्। कतिपय नेतासँग कुनै निश्चित जागिर, व्यवसाय वा लेखा परीक्षण हुने आम्दानीको स्रोत नभए पनि उनीहरू करोडौँ मूल्यका घर, महँगो गाडी, सन्तानको विदेश शिक्षा र निरन्तर वैदेशिक भ्रमणमा खर्च गरिरहेका छन्। यस्तो जीवनशैलीप्रति प्रश्न उठाउनु सामान्य नागरिकको नैतिक जिम्मेवारी हो ।”
चौधरीका अनुसार, सार्वजनिक पदमा रहेका नेताले आफ्नो जीविकोपार्जनको स्पष्ट विवरण नदिएसम्म उनको इमानदारीमाथि प्रश्न उठ्नु स्वाभाविक हुन्छ। उनले लेखेका छन— “नेपालमा सामान्य नागरिकलाई बैंक खाता, कर विवरण वा पैसाको स्रोत देखाउन बाध्य पारिन्छ, तर नेताहरूका अज्ञात स्रोतका सम्पत्तिप्रति मौनता देखाइन्छ भन्ने गुनासो बढ्दो छ। यसले शासनमा दुई किसिमको मापदण्ड रहेको प्रमाणित गर्छ भन्ने आलोचकहरूको भनाइ छ।”
सचिव चौधरीले बुँदागत रूपमा स्पष्ट पारेका छन— “समाजशास्त्रीहरूको दृष्टिमा नेताको जीवनशैली नै उसको इमानदारीको सूचक हो। निःस्वार्थ सेवाको आवरणमा विलासी जीवन बिताउने नेताहरू राजनीतिक पहुँचको दुरुपयोग गरिरहेका हुनसक्छन्। त्यसैले दैनिक आय र खर्चबीचको स्पष्टता जनतालाई देखाउन नसक्ने नेताप्रति विश्वास गर्नु अघि गम्भीर प्रश्न उठाउनुपर्छ।”
विश्लेषकहरूको चेतावनी छ— जबसम्म राजनीतिमा आर्थिक पारदर्शिता र जीविकोपार्जनको स्पष्ट विवरण कानुनी रूपमा अनिवार्य हुँदैन, तबसम्म दोष समाजमै फर्किनेछ। विगत दुई दशकको लोकतान्त्रिक अभ्यासमा पटक–पटक नेताहरूको सम्पत्ति र जीवनशैली विवादमा मुछिए पनि औपचारिक छानबिन प्रक्रियाले ती प्रकरणलाई गम्भीरतापूर्वक अगाडि नबढाएको उल्लेख गर्दै उनीहरूले “राजनीतिक इमानदारी” दिनानुदिन कमजोर हुँदै गएको बताएका छन्।
उहाँले वर्तमान राजनीतिकका बारेमा जनताको कठिन जीवन र नेताहरूको विलासी जीवनबीचको फराकिलो अन्तर अब सामाजिक मूल्याङ्कनको आधार बन्दै गएको चौधरीको भनाइ छ। यही अन्तरकै कारण नेताप्रतिको विश्वास र अविश्वास तय हुने अवस्था बनेको छ, जसले नेतृत्वको नैतिक मापदण्ड अब समाजकै हातमा आएको स्पष्ट सन्देश दिन्छ।

