जनकपुरधाम, ७ वैशाख । वीरगञ्जको मुख्य सडक क्षेत्रमा अतिक्रमण हटाउँदै सडक विस्तार अभियान सुरु भएसँगै विद्युत् तथा इन्टरनेट सेवा समेत प्रभावित भएको छ ।
सडक डिभिजन कार्यालय हेटौँडाले त्रिभुवन राजपथअन्तर्गत गण्डकचोकदेखि मितेरीपुलसम्मको सडक खण्डमा दायाँ–बायाँ २५–२५ मिटर क्षेत्र खाली गराउने उद्देश्यले आइतबार बिहानदेखि घरटहरा भत्काउने अभियान अघि बढाएको हो । अभियानअन्तर्गत मापदण्डविपरीत निर्माण गरिएका करिब एक हजार दुई सय संरचना हटाइने अनुमान गरिएको छ ।
कार्यालयका अनुसार बिहानैदेखि एक दर्जनभन्दा बढी एक्स्काभेटर प्रयोग गरी अतिक्रमण हटाउने काम तीव्र बनाइएको छ । इन्जिनियर भोला साहले सर्वोच्च अदालतको फैसला र संघीय सरकारको निर्देशनअनुसार अभियान सञ्चालन गरिएको जानकारी दिए । यसअघि पटक–पटक सूचना जारी गर्दा पनि अटेर भएपछि डोजर प्रयोग गर्नुपरेको उनको भनाइ छ ।
अभियानका कारण बिहानदेखि दिउँसोसम्म मुख्य बजार क्षेत्रमा विद्युत् र इन्टरनेट सेवा अवरुद्ध हुँदा स्थानीयको जनजीवन प्रभावित भएको छ । गण्डकचोकदेखि मितेरीपुलसम्म बिहान करिब ५ बजेदेखि दिउँसो ४ः३० बजेसम्म सेवा बन्द हुँदा व्यापार व्यवसाय, पानी आपूर्ति र दैनिक कामकाजमा समस्या देखिएको छ ।
स्थानीय व्यापारीहरूले पूर्वतयारी बिना गरिएको सडक विस्तारले थप कठिनाइ निम्त्याएको गुनासो गरेका छन् । उनीहरूका अनुसार बिजुली नहुँदा मोटर चलाउन नसक्दा पानीको समस्या समेत उत्पन्न भएको छ ।
नेपाल विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्रले सडक विस्तारका क्रममा लाइन प्रभावित भएकाले केही दिन सेवा अनियमित हुन सक्ने जनाएको छ । मर्मत तथा सुधार कार्य जारी रहेकाले उपभोक्तालाई धैर्यता अपनाउन आग्रह गरिएको छ । यता, सुरक्षा निकायको कडा उपस्थितिमा अभियान सञ्चालन भइरहेको छ । जिल्ला प्रशासन कार्यालय पर्साले यसअघि नै सूचना जारी गर्दै तोकिएको समयभित्र संरचना हटाउन निर्देशन दिएको थियो ।
सडक विस्तारपछि ट्राफिक व्यवस्थापन सुधार, दुर्घटना न्यूनीकरण र सहरी सौन्दर्य अभिवृद्धि हुने अपेक्षा गरिएको भए पनि तत्कालका लागि स्थानीयवासीले विभिन्न चुनौतीको सामना गर्नुपरेको छ ।

