जनकपुरधाम, २८ वैशाख । एचआईभी संक्रमित बिरामीको संख्याका आधारमा मधेश प्रदेश देशमै दोस्रो स्थानमा रहेको तथ्यांक सार्वजनिक भएको छ । देशभर करिब ३५ हजारभन्दा बढी एचआईभी संक्रमित रहेकोमा मधेश प्रदेशमा मात्रै करिब पाँच हजार संक्रमित रहेको बताइएको छ ।
सरकारी तथ्यांकअनुसार एचआईभी संक्रमितको संख्यामा लुम्बिनी प्रदेश पहिलो र मधेश प्रदेश दोस्रो स्थानमा रहेको छ ।
सोमबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा जिल्ला जनस्वास्थ्य कार्यालयका राजवीर यादवले प्रस्तुत गरेको तथ्यांकअनुसार मधेश प्रदेशमा एचआईभी संक्रमितको अवस्था भयावह बन्दै गएको छ । प्रदेशमा हाल ४ हजार ६ सय ८० जना एचआईभी संक्रमित रहेका छन् । तीमध्ये अधिकांश महिला तथा बालबालिका रहेको उल्लेख गरिएको छ ।
आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ मा करिब एक लाख जनाको एचआईभी परीक्षण गर्दा ६ प्रतिशतमा संक्रमण पुष्टि भएको र संक्रमितको संख्या निरन्तर बढ्दो क्रममा रहेको तथ्यांकमा उल्लेख छ । मधेश प्रदेशका आठ जिल्लामध्ये पर्सा र धनुषा सबैभन्दा बढी जोखिममा रहेको बताइएको छ ।
यादवका अनुसार पर्सामा १ हजार ५ सय ४ जना र धनुषामा ८ सय ८६ जना एचआईभी संक्रमित रहेका छन् । संक्रमितमध्ये १५ देखि ४९ वर्ष उमेर समूहका व्यक्ति सबैभन्दा बढी रहेको जानकारी दिइएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै मधेश प्रदेश स्वास्थ्य निर्देशनालयका सचिव डा. प्रमोद यादवले जनचेतनाको अभाव, अशिक्षा, वैदेशिक रोजगार तथा समयमै उपचार नगराउँदा संक्रमितको संख्या घट्न नसकेको बताउनुभयो । जनकपुरधाममा मात्रै ८ सय एचआईभी संक्रमित हुनु चिन्ताजनक अवस्था भएको उल्लेख गर्दै उहाँले यसको न्यूनीकरणका लागि सबै पक्ष गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै, प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. जामुन सिंहले एचआईभीको उपचार सम्भव भएकाले डराउन नहुने, तर नियमित औषधि सेवन गर्नुपर्ने बताउनुभयो । विगतमा एचआईभी संक्रमितलाई समाजले बहिष्कार गर्ने प्रवृत्ति रहे पनि अहिले उपचार सहज भएकाले समयमै परीक्षण र उपचार गराउन उहाँले आग्रह गर्नुभयो ।
जनस्वास्थ्य कार्यालयका प्रमुख उमेश यादवको अध्यक्षतामा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रस्तुत तथ्यांकअनुसार विश्वमा सन् १९८८ मा पहिलो पटक एचआईभी संक्रमण अमेरिकी नागरिकमा फेला परेको थियो । सन् २०२३ सम्म विश्वभर एचआईभी संक्रमितको संख्या ९ करोड १४ लाख पुगेको बताइएको छ । नेपालमा भने सन् १९८८ मै पहिलो पटक एचआईभी संक्रमण पुष्टि भएको जानकारी दिइयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन साह, अजित प्रसाद पौडेललगायतले आफ्नो धारणा राखेका थिए ।



