जनकपुरधाम १३ जेठ । भारत सरकारले नेपाललाई ४० वटा ट्रक उपहारस्वरूप प्रदान गरेको छ । वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासमा आयोजित कार्यक्रममा महावाणिज्यदूत देवी सहाय मीणाले पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई ट्रकहरूको साँचो हस्तान्तरण गरेका हुन् ।
भारतीय दूतावासका अनुसार उक्त सहायता विपद् व्यवस्थापन तथा जनसुरक्षासम्बन्धी निकायहरूको क्षमता अभिवृद्धिका लागि प्रदान गरिएको हो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अर्यालले भारत सरकारप्रति धन्यवाद व्यक्त गर्दै नेपाल–भारतबीचको सहकार्य र आपसी सहयोगको प्रशंसा गरेका छन् ।
भारत सरकारले सन् २००१ देखि नेपाल सरकारलाई विभिन्न प्रकारका सवारीसाधन उपलब्ध गराउँदै आएको छ । हालसम्म एम्बुलेन्स, स्कुल बस तथा अन्य सवारीसाधनसहित ६४० भन्दा बढी सवारी नेपाललाई उपहारस्वरूप प्रदान गरिसकेको दूतावासले जनाएको छ। साथै, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई समेत दुई हजारभन्दा बढी सवारीसाधन सहयोग गरिएको उल्लेख छ ।

दूतावासले भारत–नेपालबीचको घनिष्ठ सम्बन्ध, आपसी विश्वास र जनस्तरको मित्रतालाई यस्ता सहयोगले अझ सुदृढ बनाएको जनाएको छ।




