काठमाडौं, २८ जेठ । रौतहटमा अवैध रूपमा भारत निकासी गर्न लागिएको ९० लाख रुपैयाँभन्दा बढी मूल्यको फर्सीको बिउ बरामद गरिएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार विशेष सूचनाका आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले बुधबार साँझ बौधीमाई नगरपालिका–७ स्थित बाडा बंकुल टोलबाट ३२२ बोरा (१२ हजार ८८० किलो) फर्सीको बिउ नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार त्रिपालले छोपेर राखिएको अवस्थामा फेला परेको उक्त बिउको अन्दाजी मूल्य ९० लाख १६ हजार रुपैयाँ बराबर रहेको छ।
बरामद अभियानका क्रममा केही स्थानीयवासीले अवरोध सिर्जना गरेका थिए। उनीहरूले प्रहरी टोलीमाथि ढुंगामुढा प्रहार गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले ६ राउण्ड अश्रुग्यास प्रहार गरेको जनाएको छ।
झडपका क्रममा तीन जना प्रहरी र तीन जना स्थानीयवासी घाइते भएका छन्।
बरामद गरिएको बिउ आवश्यक कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।



